पर्सा प्रहरीद्वारा ‘स्मार्ट कन्ट्रोलरुम’ सेवा सञ्चालनमा
सिमराः पर्सा प्रहरीले आजदेखि ‘स्मार्ट कन्ट्रोलरुम’ सेवा सञ्चालनमा ल्याएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले ‘स्मार्ट कन्ट्रोल’ रुमको उद्घाटन गरेका हुन ।
‘स्मार्ट कन्ट्रोल’ बाट सर्वसाधारणको समस्या समाधान तर्फ तदारुकता देखाउन प्रहरीलाई प्रमुख जिल्ला अधिकारी भुसालले निर्देशन दिए । उनले प्रहरीले आजदेखि सञ्चाल गरेको ‘स्मार्ट कन्ट्रोल’ सेवाको अवधारणा राम्रो रहेकोले उदेश्य बमोजिमको सेवा प्रवाह गर्न सुझाव समेत दिए ।
सेवाग्राहीको काम छिटो छरितो बनाउनका लागि पर्सा प्रहरीद्वारा मधेश प्रदेशमा पहिलोपटक ‘स्मार्ट कन्ट्रोल’ रुम सेवा सञ्चालन ल्याइएको हो । समस्याको तत्काल सम्बोधन तथा अपराध रोकथाम हेतुले उपत्यकापछि पर्सामा पहिलोपटक ‘स्मार्ट कन्ट्रोल’ बाट सेवा प्रवाहको अवधारणा ल्याइएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए ।
उनका अनुसार अब यो सेवामार्फत प्रहरीले कुनै पनि घटनाको छिटो र छरितो जानकारी लिइ त्यसको समाधानका लागि तुरुन्त प्रहरी परिचालन हुनेछ । स्मार्ट कन्ट्रोल रुम बाट सेवा लिन सर्वसाधारणले १०० मा फोन गर्नुपर्ने हुन्छ । त्यसपछि आफ्नो घटना विवरण टिपाउनु पर्ने हुन्छ । घटना विवरण टिपाइ सकेपछि स्मार्ट कन्ट्रोल रुमबाट तत्कालै प्रहरी कन्ट्रोल र सम्बन्धित एरियामा रहेका प्रहरी यूनिटसहितका प्रहरी संयन्त्रलाई त्यो सूचना पठाइन्छ ।
सूचना पठाएको केही मिनेटभित्रमै नजिकका प्रहरी संयन्त्रले घटनास्थलमा पुगेर सेवा प्रदान गर्नेछन् । यहाँ फोन गर्दा घटनास्थलमा समयमै प्रहरी पुग्नुपर्ने हुन्छ । नपुगे त्यो प्रहरीलाई कारबाही हुने व्यवस्था छ रहेको प्रहरी प्रमुख ढुंगेलले जानकारी दिए ।
यस सेवा र दिइएको नम्बरको दुरुपयोग नगर्न र गलत सुचना नदिन उनले आग्रह समेत गरे । सो गर्दा गलत सुचना दिने व्यक्तिमाथी कारवाही गरिनेछ ।