जीतपुरसिमराको दसौं नगरसभाको दोस्रो बैठक पनि स्थगित, असार १० गते तेस्रो बैठक आहवान


eShilalekh

८ असार २०८१, शनिबार १५:५३

सिमराः आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न शनिबार बोलाइएको जीतपुरसिमरा उपमहानगरपालिकाको दसौं नगरसभाको दोस्रो बैठक पनि स्थगित भएको छ । सभा संचालनका लागि आवश्यक गणपूरक संख्या नपुगेपछि दोस्रो बैठक पनि स्थगित भएको हो ।

नगर प्रमुख राजन पौडेलले नगरसभा संचालन नियमावली २०७५ को दफा ५ को उपदफा (२) बमोजिम आवश्यक संख्या नपुगेको भन्दै बैठक स्थगित गरेका थिए । यसअघि असार ५ गतेका लागि बोलाइएको पहिलो बैठक गणपूरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।

जीतपुरस्थित प्राइम पार्टी प्यालेसमा आयोजित सभा स्थगित गर्दै नगर प्रमुख पौडेलले असार १० गतेका लागि तेस्रो बैठक बोलाएका छन् । पौडेलले नगरसभा संचालन नियमावली २०७५ को दफा ५ को उपदफा (३) बमोजिम तेस्रो बैठक आहवान गरेका हुन् ।

उक्त उपदफाले २५ प्रतिशत सदस्यको उपस्थितीमा बैठक बस्न सक्ने व्यवस्था गरेको छ । उपदफा (१) र उपदफा (२) मा भने ५० प्रतिशत भन्दा बढी सदस्यको उपस्थितीमा मात्रै नगरसभा बस्ने सक्ने प्रावधान छ । पहिलो बैठक स्थगित भएको तीन दिन भित्र बस्ने गरी दोस्रो बैठक र उक्त दोस्रो बैठक पनि स्थगित भएमा दुई दिन भित्र बस्ने गरी तेस्रो बैठक आहवान गर्नुपर्ने व्यवस्था नियमावलीमा छ ।

सोही अनुसार नगर प्रमुख पौडेलले असार १० गतेका लागि बैठक बोलाएका हुन् । उक्त बैठकमा पनि २५ प्रतिशत संख्या उपस्थित नभएमा नगरसभा स्थगित हुनेछ । २५ प्रतिशतका लागि हाल कायम एक सय २२ नगरसभा सदस्य संख्यामध्ये ३१ जना उपस्थित हुनुपर्नेछ ।

तर नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल नभएको भन्दै नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट निर्वाचित अधिकांश सदस्यले नगरसभा बहिष्कार गर्दै आएका छन् । नगरसभामा उपप्रमुखसहित नेकपा एमालेका ६९, नेपाली कांग्रेसका २३, प्रमुखसहित नेकपा माओवादी केन्द्रका २०, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ६ र नेकपा एकीकृत समाजवादीका चार सदस्य छन् ।

नेकपा माओवादी केन्द्रबाहेक अन्य पार्टीबाट निर्वाचित अधिकांश सदस्य असार ५ र ८ को दुवै बैठकमा देखिएनन् । जसले गर्दा नगर प्रमुख पौडेलमाथि तेस्रो बैठकमा सभा सम्पन्न गर्ने चुनौती ठुलो देखिन्छ । तर हाल विपक्षमा देखिएका केही वडाध्यक्ष र वडासदस्यलाई उपस्थित गराएर भएपनि तेस्रो बैठकमा सभा सम्पन्न गर्ने दाउमा पौडेल देखिएका छन् ।

माओवादी केन्द्रका २० सहित सभा सम्पन्न गर्न पौडेललाई अन्य पार्टीबाट निर्वाचित थप ११ जना नगरसभा सदस्यको आवश्यकता पर्छ । तर अन्य पार्टीबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्य भने नगर प्रमुखले आफूहरुको मागका विषयमा छलफल नगरेसम्म नगरसभामा उपस्थत नहुने र अन्य सदस्यलाई समेत उपस्थित नगराउने अडान लिदै आएका छन् ।

सम्बन्धित समाचारः

प्रतिक्रिया दिनुहोस्