नगरसभा सफल बनाउन प्रमुख पौडेलको अपिल, कार्यपालिकालाई बेवास्था गरेर सभा हुँदैनः वडाध्यक्ष


eShilalekh

९ असार २०८१, आईतवार २०:१३

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले सोमबारका लागि बोलाइएको नगरसभाको तेस्रो बैठक सफल बनाउन आहवान गरेका छन् । प्रमुख पौडेलले आइतबार सार्वजनिक अपिल जारी गर्दै दसौं नगरसभा सफल बनाउनका निम्ति नगरसभा सदस्यलाई आहवान गरेका हुन् ।

आर्थिक वर्ष २०८१।८२ का लागि नीति तथा कार्यक्रम र बजेटका विषय प्रस्तुत गर्न बोलाइएको दसौं नगरसभाको पहिलो र दोस्रो बैठक गणपूरक संख्या नपुगेका कारण स्थगित भएपछि नगर प्रमुखले तेस्रो बैठकका लागि अपिल गरेका हुन् । नगरसभा संचालन नियमावली २०७५ को दफा ५ को उपदफा (१) र (२) बमोजिम बोलाइएको बैठक स्थगित भएपछि १० गतेका लागि उपदफा (३) बमोजिम तेस्रो बैठक बोलाइएको छ ।

तेस्रो बैठकमा नगरसभामा निर्वाचित सदस्यमध्ये २५ प्रतिशत उपस्थिती अनिवार्य हुनुपर्नेछ । तर नेकपा एमालेबाट निर्वाचित नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित नगरसभा सदस्यले यसअघिको नगरसभा बहिष्कार गरेका थिए । नगरसभामा नेकपा एमालेका ७२, नेपाली कांग्रेसका २३, नेकपा माओवादी केन्द्रका २०, लोकतान्त्रिक समाजवादी पार्टीका ६ र नेकपा एकीकृत समाजवादीका चार सदस्य छन् । एमालेका ७२ मध्ये हाल ६९ सदस्य सभामा छन् ।

नीति तथा कार्यक्रम, बजेट र वडा सिलिङ कार्यपालिकाको बैठकबाट अनुमोदन गरेर मात्रै नगरसभामा लैजानुपर्ने भन्दै वडाध्यक्ष र कार्यपालिका सदस्यले विरोध गरिरहेका कारण सभा सम्पन्न गर्न प्रमुख पौडेललाई चुनौती देखिन्छ । आफूहरुको माग सम्बोधन भएसम्म नगरसभामा सहभागिता नजनाउने उनिहरुको अडान छ ।

तर दुई पटकको बैठक बोलाइसकेका नगर प्रमुख पौडेल तेस्रो बैठकमा सभा सम्पन्न गर्ने तयारीमा जुटेका छन् । उनले विरोधमा रहेका वडाध्यक्ष, कार्यपालिका र वडा सदस्यमध्येबाट केहीलाई सहभागी गराएर २५ प्रतिशत पुर्याउने तयारी गरिरहेका छन् ।

त्यसैअनुरुप उनले सार्वजनिक अपिल समेत गरेका हुन् । अपिलमा उनले भनेका छन् ‘नेपालको संविधान अनुसार स्थानीय तह (जीतपुरसिमरा उपमहानगरपालिका) को सबैभन्दा ठूलो संयन्त्र नगरसभा सम्पन्न गरी उपमहानगरपालिकाको चौतर्फी विकास गर्ने जिम्मा तपाई हामी नगरसभा सदस्यहरुको जिम्मा भएकोले भोली मितिः २०८१।०३।१० गते प्राईम पार्टी प्यालेस (पुरानो शिवपार्वती हल) मा हुने नगरसभाको बैठकमा उपस्थित भई सभा सम्पन्न गर्ने हाम्रो कर्तब्य पूरा गर्न हुन सम्पूर्ण नगरसभा सदस्यहरुलाई हार्दिक अपिल गर्दछु ।’

नगर प्रमुख पौडेलले विभिन्न राजनीतिक दललाई पत्राचार गरेर आफ्नो पार्टीबाट निर्वाचित नगरसभा सदस्यलाई सभामा उपस्थित गराईदिन आग्रह समेत गरेका छन् ।

कार्यपालिकाले अनुमोदन नगरेसम्म नगरसभा हुँदैनः वडाध्यक्ष

नगर प्रमुखले तेस्रो बैठकमा सभा सम्पन्न गर्ने तयारी गरेपनि वडाध्यक्ष र कार्यपालिका सदस्य भने त्यसमा तयार देखिदैनन् । नीति तथा कार्यक्रम र बजेटको विषयमा कार्यपालिकामा छलफल नभएसम्म सभा हुन नसक्ने वडाध्यक्षको भनााई छ ।

जीतपुरसिमरा २१ का वडाध्यक्ष सुवास श्रेष्ठले नगरसभा सम्पन्न गर्नका लागि आफूहरु तयार भएपनि वातावरण बनाउन नगर प्रमुख गम्भीर नभएको आरोप लगाए । वडा सिलिङ र टुक्रे योजना माग गरेको भनेर वडाध्यक्षलाई बद्नाम गर्न खोजिएपनि यथार्थ भने नीति तथा कार्यक्रम र बजेट कार्यपालिकामा छलफल गरेर अघि बढ्नुपर्छ भन्ने रहेको श्रेष्ठको भनाई थियो ।

‘हामी नगरसभाको विरोधी होईनौ । नगरसभा सम्पन्न गर्नुपर्छ भनेर हामी पनि संवाद गरिरहेका छौं’ श्रेष्ठले भने ‘तर हामीले नगरसभा गर्नुअघि कार्यपालिका बैठक बसेर नीति तथा कार्यक्रमका बिषयमा छलफल गरौं न भन्दा नगर प्रमुख तयार देखिनुहुन्न ।’

यता नगर प्रमुख भने कार्यपालिकाबाट नीति तथा कार्यक्रम र बजेट पारित भईसकेको दावी गर्छन् । तर अधिकांश वडाध्यक्ष र कार्यपालिका सदस्यले भने नीति तथा कार्यक्रम र बजेटका विषयमा कार्यपालिकामा छलफलनै नभएको बताउछन् । विभिन्न राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने वडाध्यक्ष तथा कार्यपालिका सदस्यले बहुमत सदस्यलाई बेवास्था गरेर बोलाइएको नगरसभामा सहभागी नहुने निर्णय गरेको वडाध्यक्ष श्रेष्ठले बताए ।

कार्यपालिका बैठकमा छलफल नै नगरी र वडाको सिलिङको टुंगो नलगाई कार्यालयले वडासचिवमार्फत असार ६ गतेको मितिमा वडागत योजना माग गरेपछि वडाध्यक्ष र कार्यपालिका सदस्य थप आक्रोशित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्