जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराद्वारा निशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न
सिमराः जिल्ला ट्राफिक कार्यालय निजगढ बाराले असार ६ गतेदेखि मनाइरहेको ट्राफिक साप्ताहको क्रममा आज निशुल्क आँखा स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
केडिया आँखा अस्पतालसँग समन्वय गरी अस्थायी ट्राफिक प्रहरी पोष्ट जितपुरमा सवारी चालक र स्थानिय सर्वसाधारण जनताका लागि निशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
शिविरमा ७० जना सवारी चालक र ५० जना स्थानिय सर्वसाधारणहरुको आँखा परिक्षण गरिएको थियो । केडिया आँखा अस्पतालका डाक्टर सन्तोष ठाकुरको नेतृत्वमा सम्पन्न भएको यस शिविरमा आँखा रोगीहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको थियो ।
ट्राफिक प्रहरी पोष्ट जितपुरका प्रमुख प्रहरी सहायक निरीक्षक बबलु ठाकुरले शिविरबारे जानकारी दिँदै यस्तो कार्यक्रमले सवारी चालकहरु र सर्वसाधारणको आँखा स्वास्थ्यमा सुधार हुने विश्वास व्यक्त गरेका थिए ।