एसईईमा अनुत्तीर्ण सबैले मौका परीक्षा दिन पाउने


eShilalekh

१५ असार २०८१, शनिबार १४:१२

सिमरा: माध्यमिक शिक्षा परीक्षा एसईईमा अनुत्तीर्ण भएका अर्थात् ननग्रेडिङ (एनजी) ल्याएका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् । शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै सबै ननग्रेडिङ विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

एसईईमा ‘एनजी’ ल्याएका सबै दुई लाख ४२ हजार तीन सय १३ जना विद्यार्थीले ग्रेडवृद्धि अर्थात् मौका परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको हो । यसअघि दुई विषयसम्म ननग्रेडिङ भएका विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने भनिएको थियो ।

शिक्षामन्त्री श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै सबै ननग्रेडिङ विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता केशव दाहालले बताए । ‘सबै एनजी ल्याउने छात्रछात्रालाई ग्रेडवृद्धि परीक्षाको मौका दिने मन्त्रीस्तरीय निर्णय भएको हो । राष्ट्रिय परीक्षा बोर्ड र पाठ्यक्रम विकास केन्द्रलाई पनि उक्त निर्णय कार्यान्वयन गर्न अनुरोध गरिएको छ,’ उनले भने ।

परीक्षा बोर्डले साउन १८ र १९ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने समयतालिका प्रकाशित गरिसकेको छ । मन्त्रायलको यो निर्णयपछि परीक्षाको समय तालिकामासमेत संशोधन गर्ने तयारी छ ।

ग्रेडवृद्धिमा सहभागी हुने विद्यार्थीलाई परीक्षाको तयारी र आवश्यक कक्षा सञ्चालन तथा सिकाइ सहजीकरण गर्न शिक्षा तथा मानवस्रोत विकास केन्द्रमार्फत देशभरका विद्यालयलाईसमेत निर्देशन दिने निर्णय भएको मन्त्रालयले जनाएको छ । यस वर्षको एसईईमा सबैभन्दा बढी गणित, विज्ञान र अंग्रेजी विषयमा विद्यार्थीको एनजी आएको छ ।

प्रतिक्रिया दिनुहोस्