बारामा ठूलो परिमाणमा लागूऔषध गाँजा सहित दुई जना पक्राउ
सिमरा: जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ५ निवासी मनोज साहको घरमा छापामारी गरी झण्डै २ सय १ किलोग्राम गाँजा सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले शुक्रबार राति १० बजेको समयमा प्रदेश ०१– ०२९ च ६७५२ नम्बरको पिकअप गाडी ठूलो इटवाल टोलस्थित मनोज साहको घरमा गाँजा खसालेको बिशेष सूचनाको अधारमा प्रहरीले छापा मारेको थियो ।
पक्राउ पर्नेहरुमा बागमती प्रदेश ०१– ०२९ च ६७५२ नम्बरको पिकअप गाडीका चालक धादिङको निलकण्ठ नगरपालिका–८ घर भएका २२ बर्षिय सुजन अधिकारी र सहचालक धादिङकै ज्वालामुखी नगरपालिका–१ का २३ बर्षिय रमेश नेपाली रहेका छन् । गाँजा र गाडीसहित नियन्त्रणमा लिइएका दुवै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भईरहेको ईप्रका सिम्रौनगढका प्रहरी निरीक्षक राईले जानकारी दिए ।