जगरनाथपुर हत्याकाण्डका आरोपित सार्वजनिक, आफन्तबाटै हत्या भएको प्रहरीको खुलासा
सिमराः पर्साको जगरनाथपुरमा हत्या गरी शव गाडिएको घटनामा संलग्न तीन जनालाई प्रहरीले बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा मृतक रामएकबालका भतिज लक्ष्मण प्रजापति कुम्हार (३३ वर्ष), ज्वाँई सन्तोष कुम्हार (३२ वर्ष), र महादेव महत्तो नुनिया (३२ वर्ष) रहेका छन् । पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार, तीनै जना हत्याका मुख्य योजनाकार हुन् ।
जेष्ठ २९ गते पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ स्थित ओरिया खोलामा, बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ का ६० वर्षीय रामएकबाल पडित कुम्हार र बाराकै आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ७ निवासी ४० वर्षीय सुरेश ठाकुर लोहारको शव गाडिएको अवस्थामा फेला परेको थियो ।
रामएकबाल र सुरेशले गाउँमा झारफुक, धामीझाँक्रीको काम गर्थे । रामएकबाल र उनका भतिज लक्ष्मणबीच जग्गाको विवाद अदालतमा चलिरहेको थियो । रामएकबालले तन्त्रमन्त्र गरेर परिवारलाई हानि पुर्याएको रिसमा लक्ष्मण र सन्तोषले मिलेर हत्याको योजना बनाएको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।
उनीहरूले जेष्ठ २५ गते राती रामएकबाल र सुरेशलाई झारफुकको बहानामा ओरिया खोलामा बोलाए । त्यतिबेला कलैयाबाट वीरगन्जको पावरहाउस चोकसम्म बस चढेर आएका रामएकबाल र सुरेशलाई मोटरसाइकलमा ओरिया खोलामा पुर्याइएको थियो ।
त्यहाँ लक्ष्मण र सन्तोषले ८ लाख रुपैयाँ सुपाडी लिएर खटाएका व्यक्तिहरुले गम्छाले दुवैको घाटीमा बेरेर हत्या गरेका थिए र शवलाई बालुवामा गाडेको अनुसन्धानका क्रममा सार्वजनिक भएको हो ।
प्रहरी नायब उपरीक्षक भारतीका अनुसार, पक्राउ परेका तीन जना योजनाकार हुन् भने हत्या गर्ने अन्य व्यक्ति पहिचान भइसकेका छन् । उनीहरू हाल फरार छन् र प्रहरीले खोजी गरिरहेको छ। हाल पक्राउ परेकाहरुलाई पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर ज्यान सम्बन्धी कसूर मुद्दामा अनुसन्धान भइरहेको छ।