वीरगन्जबाट छुटेको एन्जल बसमा थिए सात भारतीयसहित २४ यात्रु


eShilalekh

२८ असार २०८१, शुक्रबार ११:०५

सिमरा: नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार बिहान पहिरोले बगाएर त्रिशुली नदीमा बेपत्ता भएको एन्जल बसमा २४ जना सवार थिए । जसमध्ये सात भारतीयसहित २१ यात्रु, तीन जना चालक, सहचालक र सवारीधनी रहेका छन् ।

वीरगन्जको प्रतिमाचोकबाट बिहीबार राति ८ बजे छुटेको बागमती प्र.०३००६ ख १५१६ नम्बरको उक्त बस र काठमाडौंबाट गौरका लागि हिँडेको गणपती डिलक्स बस सिमलतालमा बिहान करिब ३.३० बजे आएको पहिरोले बगाउँदा त्रिशुली नदीमा खसेको थियो । गणपती डिलक्समा ४३ यात्रु सवार थिए ।

बस र यात्रुको खोजीमा खटिएका सुरक्षाकर्मी । तस्वीर: बिएल

त्रिशुलीमा बेपत्ता दुवै बस र यात्रुको खोजी भईरहेको छ । पहिरोले बस बगाउँने क्रममा तीन जना यात्रुले भने झ्यालबाट निस्किएर ज्यान जोगाउन सफल भएका छन् ।

बस बेपत्ता भएसंगै यात्रुको परिचय र ठेगाना खोज्न थालिएको छ । घटनापछी वीरगन्जस्थित एन्जल्स बसको काउन्टरले सात भारतीयसहित २१ यात्रु र तीन जना चालक दलको सदस्य बसमा सवार रहेको जनाएको छ ।

एन्जल बसको यात्रुको विवरण ।

बसका चालक वीरगन्जका जवाहिर महतो र सहचालक चौधरी थरका ठेगाना नखुलेका पुरुष छन् । यसैगरी सवारीधनी राजेन्द्र केसी समेत बसमा थिए । उनको पनि ठेगाना खुल्न बाँकी छ ।

बसमा बारा मुसहर्वाका प्रमानन्द नाम गरेका एक यात्रु रहेको खुलेको छ । उनको थप विवरण खुल्न बाँकी छ । पर्सा जिल्लाका १२ यात्रु बसमा सवार थिए ।

गणपति बसको यात्रुको विवरण ।

उता सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले सामाजिक संजालमार्फत एन्जल्स बसमा दुई स्वास्थ्य कर्मचारीसहित पाँच जना आफ्नो पालिका भित्रका नागरिक रहेको जनाएका छन् ।

तस्वीर: बिएल

प्रतिक्रिया दिनुहोस्