गायक अमात्यको बारामा रहेको १२ बिगाह जग्गा किर्ते गरी १९ करोड ऋण लिनेलाई कैद सजाय


eShilalekh

३० असार २०८१, आईतवार १८:४१

सिमराः विशेष अदालतले गायक योगेश्वर अमात्यको बारा बिश्रामपुरस्थित १२ बिगाह जग्गा किर्ते गरी नक्कली ऋण लिने आठ जनालाई कैद सजाय सुनाएको छ ।

जग्गा किर्ते गरी १९ करोड ऋण लिएको अभियोगमा अदालतले दुई जनालाई चार वर्ष, दुई जनालाई दुई वर्ष र चार जनालाई एक वर्षको कैद सजाय सुनाएको हो । विशेष अदालतका सदस्य डा. खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले पाँच जनालाई सात करोड ६० लाख र चार जनालाई ३ करोड ८० लाख जरिवाना समेत तोकेको छ ।

अदालतले रेशमबहादुर सिलवाल र उविन्दराज शाक्यलाई चार वर्ष तथा सात करोड ६० लाख जरिवाना तोकेको हो । यसैगरी मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई दुई वर्ष कैद र सात करोड ६० लाख जरिवाना तोकिएको छ ।

यसैगरी रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, शोभा शाक्य र कुशन प्रधानलाई एक–एक वर्षका दरले कैद र जनही तीन करोड ८० लाख जरिवाना निर्धारण गरिएको छ । मालपोत कार्यालय बाराको छाप र कागज नक्कली बनाएर सोही कागजातका आधारणमा ऋण लिएको आरोपमा उनिहरुविरुद्ध मुद्धा दायर भएको थियो ।

गायक अमात्यले आफू संचालक रहेको बिल्वा भूमि वन प्रा.लिका नाममा रहेको उक्त १२ विगाह जग्गाबाट ऋण प्रवाह भएको जानकारी पाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा जाहेरी दिएका थिए । उक्त जग्गाको किर्ते कागजातका आधारमा काठमाडौं न्यूरोडस्थित कुमारी बैंकबाट १९ करोड ऋण प्रवाह भएको थियो ।

प्रतिक्रिया दिनुहोस्