बस दुर्घटना अपडेटः १५ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिमरा: वीरगन्ज–पथलैया सडकखण्डमा मंगलबार बिहान यात्रुवाहक बस दुर्घटना हुदाँ १५ जना घाइते भएका छन् । तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।
चितवनको नारायणगढबाट पर्साको वीरगन्ज आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ स्थित डाबर नेपाल प्रालि नजिकको सडकमा बिहान ११ बजेतिर अनियन्त्रित भई पल्टिएको हो ।
दुर्घटनामा घाइते हुनेहरुमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ की ३३ वर्षीय जानुका ढुंगाना, अमलेखगन्जका ३३ वर्षीय शंकर गुरुङ, कलैया उपमहानगरपालिका वडा नम्बर १८ मोतिसरका २१ वर्षीय कन्हैया गुप्ता, महागढीमाई नगरपालिका वडा नम्बर ५ का १८ वर्षीय सर्वजित राम रहेका छन् ।
यस्तै दुर्घटनामा घाइते हुनेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोठीका ५० वर्षीय दिपेन्द्र कुमार गुप्ता, वडा नम्बर १५ भिस्वाका ४२ वर्षीय बिक्रम राना मगर , वडा नम्बर ६ माईस्थानका १८ वर्षीय सोयब अन्सारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतितवडाले जाानकारी दिए ।
मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ८ की ३९ वर्षीय सरस्वती काफ्ले, वडा नम्बर १५ का ३५ वर्षीय सागर गोले, वडा नम्बर ९ की ५३ वर्षीय गौरी श्रेष्ठ, वडा नम्बर ४ का ३० वर्षीय अमिर थापा, वडा नम्बर १५ का २५ वर्षीय सुमन लामा पनि घाइते भएका छन् ।
दुर्घटनामा घाइते हुनेमा चितवनको कालिका गाँउपालिका वडा नम्बर ५ का ५५ वर्षीय तिलक भट्टराई,भारतको बिहार राज्यको रक्सौलका १८ वर्षीय साहिद अन्सारी र हालसम्म नाम वतन खुल्न नसकेका अन्दाजी बर्ष २४ का एक युवकपनि रहेको खतितवडाले जाानकारी दिए ।
उनका अनुसार, घाइते १५ जना मध्ये बाराको अमलेखगन्जका शंकर गुरुङ , मोतिसरका कन्हैया गुप्ता र नाम वतन खुल्न नसकेका २४ वर्षीय युवकको अवस्थाा गम्भीर छ । बाँकीको अवस्था मध्यम र सामान्य रहेको उनले बताए । घाइते सबैको वीरगन्जको गण्डकस्थित नारायणी बयोधा मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।