नेपाली समुदायका बालबालिकाका लागि अमेरिकामा सांस्कृतिक तथा आध्यात्मिक शिविर


eShilalekh

३ श्रावण २०८१, बिहीबार ०९:५९

रामप्रसाद अधिकारी

अमेरिकाः नेपाली समुदायका बालबालिकालाई लक्षित गर्दै अमेरिकाको युलेशमा सांस्कृतिक तथा आध्यात्मिक शिविर संचालन भईरहेको छ । जुलाई १५ तारिखदेखि सुरु भएको शिविरमा टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रका करिब तीन सय बालबालिका सहभागिता रहनेछ ।

नेपाली समाज टेक्सास, ग्लोबल नेपाली पाठशाला तथा नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्रद्वारा आयोजना गरिएको सांस्कृतिक तथा आध्यात्मिक शिविरको पहिलो चरणमा बालबालिकालाई सहभागी गराइएको हो । जुलाइ २१ तारिखसम्म उक्त शिविर संचालन हुनेछ । जुलाइ २२ तारिखदेखि अन्य उमेर समूहलाई सहभागी गराएर दोस्रो चरणको शिविर आयोजना गरिनेछ ।

अमेरिकामा जन्मेका र हुर्केका नेपाली समुदायका बालबालिकाहरुलाई लक्षित गरि शिविरको आयोजना गरिएको नेपाली समाज टेक्सास, ग्लोबल नेपाली पाठशालाका प्रिन्सिपल डा. भोजबहादुर बलायरले जानकारी दिए । शिविरमा आध्यात्मिक जागरण, प्रेरक कथाहरु, योग, ध्यान, मित्रता, आत्मविश्वास निर्माण, नेपालको परम्परागत चित्रकला, नेपाली नाटक र नृत्य र वित्तीय साक्षरता सम्बन्धी ज्ञान दिने कार्यक्रम रहेको डा. बलायरले बताए ।

डा. बलायरका अनुसार सहभागीहरुको अत्यधिक चाप र व्यवस्थापनमा सहज होस भनेर साना बालबालिकाका लागि पहिलो र अन्यलाई दोस्रो चरणमा सहभागी गराइएको हो । शिविरमा डा. चिन्तामणि योगी मुख्य बक्ता र बिषय अनुसार अन्य सहायक प्रशिक्षकले सहजिकरण गर्ने ग्लोबल नेपाली पाठशालाले जनाएको छ ।

नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र युलेशको सभाकक्षमा आयोजना गरिएको शिविर उद्घाटन कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, युलेश सिटीका उपमेयर टीका पौडेल, नेपाली समाज टेक्सासका वरिष्ठ उपाध्यक्ष जनक भण्डारी, ग्लोबल नेपाली पाठशालाका प्रिन्सिपल डा. बलायर, नेपाली मन्दिरका पुजारी मेघनाथ निरौलाले नेपाली सांस्कृतिक तथा आध्यात्मिक शिविरको महत्वको बारेमा मन्तव्य राखेका थिए । 
स्कुल जाने उमेरका बालबालिकाहरुलाई नेपाली समाज टेक्ससले सन २००७ देखि धार्मिक संस्कार, संस्कृति, नैतिक शिक्षाका बारेमा जानकारी दिन समर क्याम्प आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्