सिमलताल घटनाः बाराकी सृष्टी यादवको परिवारले गरे कुशको शव बनाएर दाहसंस्कार


eShilalekh

४ श्रावण २०८१, शुक्रबार १२:५८

सिमराः त्रिशूली नदीमा बेपत्ता भएको एन्जल बसकी यात्रु सृष्टी यादवको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् । घटनाको आठौं दिनसम्म स्थिती अज्ञात बनेपछि कलैया उपमहानगरपालिका १४ की सृष्टीको अभिभावकले कुशको शव बनाएर दाहसंस्कार गरेका हुन् ।

शव फेला नपरेपछि धार्मिक विधिअनुसार अन्तिम संस्कार गरेको परिवारले जनाएका छन् । सृष्टी पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरको रुपमा कार्यरत रहेकी थिईन् । उनि परीक्षा दिनका लागि काठमाडौंतर्फ जाँदै थिईन् ।

उनि चढेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको गणपती डिलक्स बस असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमतालको पहिरोमा परी त्रिशूली नदीमा खसेको थियो । उक्त घटनामा ६५ यात्रुमध्ये ६२ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये हालसम्म २० जनाको शव फेला परिसकेको छ ४२ जनाको अवस्था अज्ञात छ ।

उक्त घटनामा बाराका चार यात्रु परेका थिए । सृष्टीसंगै प्रसौनी गाउँपालिकाका २ का ताराचन्द कुर्मी, उनकी पत्नी कुसुवदेवी र बारा बिश्रामपुर ३ का प्रमानन्द पंडितको बसमा यात्रा गरिरहेका थिए । शव फेला पर्ने स्थिती नदेखेपछि कुर्मीको परिवारले यसअघि नै कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्