बारा जिल्ला अदालतका तीन न्यायाधीशको सरुवा
सिमराः न्याय परिषद्ले बारा जिल्ला अदालतका तीन न्यायाधीशको सरुवा गरेको छ । उच्च र जिल्ला अदालतका ९१ जना न्यायाधीशको सरुवा तथा पदस्थापन गर्ने क्रममा परिषद्ले बाराका तीन न्यायाधीशलाई अन्य जिल्लामा सरुवा गरेको हो ।
परिषद्ले बारा जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जन, न्यायाधीश दिलीपराज पन्त र न्यायाधीश प्रकाश राउतलाई सरुवा गरेको छ । महर्जनलाई काठमाडौं, पन्तलाई भक्तपुर र राउतलाई सुनसरी जिल्ला अदालतमा सरुवा गरिएको हो ।
यसैगरी न्याय परिषद्ले बारा जिल्ला अदालतमा दुई जना न्यायाधीशलाई पदस्थापन गरेको छ । परिषद्को निर्णय अनुसार बारामा रामेछाप जिल्ला अदालतबाट न्यायाधीश ईन्दिरा शर्मा र सुनसरी जिल्ला अदालतबाट न्यायाधीश सुरेशराज खनाल आउने भएका हुन् ।
यस्तै परिषद्ले पर्सा जिल्ला अदालतका न्यायाधीश ध्रुवराज त्रिपाठी र पुरुषोत्तम नेपालको पनि सरुवा गरेको छ । त्रिपाठीलाई संखुवासभा जिल्ला अदालत र नेपाललाई सुनसरी जिल्ला अदालतमा सरुवा गरिएको हो ।
पर्सामा काठमाडौं जिल्ला अदालतबाट न्यायाधीश माधवप्रसाद घिमिरे, ललितपुर जिल्ला अदालतबाट न्यायाधीश रोशनकुमार भट्टराई र मोरङ जिल्ला अदालतबाट न्यायाधीश मोहन सुवेदी आउने भएका छन् ।