जीतपुरसिमरा १४ को कार्यालयद्धारा सुत्केरी महिलालाई प्रोत्साहन पोषण भत्ता वितरण


eShilalekh

१८ श्रावण २०८१, शुक्रबार १३:४९

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ को कार्यालयले शुक्रबार सुत्केरी महिलालाई प्रोत्साहन पोषण भत्ता वितरण गरेको छ । वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष चयन गुरुङले पाँच हजारका दरले ७० जनालाई पोषण भत्ता वितरण गरेकी हुन् ।

सुत्केरी महिलाका परिवारलाई उक्त रकम हस्तान्तरण गरिएको थियो । सुत्केरी तथा गर्भवती अवस्थामा आवश्यक पर्ने स्याहार र आहारका लागि वडा कार्यालयले पोषण भत्ता वितरण गरेको वडाध्यक्ष गुरुङले बताईन् ।

वडा कार्यालयले अघिल्लो वर्ष पनि वडा भित्रका ६० जना महिलालाई पोषण भत्ता वितरण गरेको थियो । कार्यालयले आफ्नो वडास्तरीय योजनामा सुरक्षित मातृ स्याहार कार्यक्रम संचालन गर्दै आएको छ । उक्त कार्यक्रमबाट सुत्केरी भएका महिला र उनका परिवार लाभान्वित हुँदै आएका छन् ।

सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यक्रम ल्याउनुको मुख्य उद्देश्य आमा र बच्चालाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु, असल पारिवारिक वातावरणमा पोषणयुक्त खाद्य वस्तु उपभोग गर्नु, आमा र शिशुको मृत्युदरमा कमी ल्याउनु, महिला र बालबालिका मैत्री सेवा विस्तार गर्नु, निरोगी सुपोषित र स्वावलम्बी नागरिक निर्माण गर्नु रहेको वडाध्यक्ष गुरुङले बताएकी छिन् ।

पोषण भत्ता वितरण कार्यक्रममा वडा नं. १४ वडासदस्य यमप्रसाद ढकाल, तेजनारायण चौधरी, गीता सार्की, वडा सचिव रञ्जु अधिकारी, स्वास्थ्य शाखाका अर्जुन श्रेष्ठलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्