‘वडाबासीबाट सकारात्मक प्रतिक्रिया पाउँदा अझै उत्साह थपिएको छ’


निलिसा वर्मा

१९ श्रावण २०८१, शनिबार १७:०६

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ की वडाध्यक्ष ३८ वर्षीया चयन गुरुङ बारा जिल्लाको एक मात्र महिला वडाध्यक्ष हुन् । उनि २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार रहँदै वडाध्यक्षमा निर्वाचित भएकी थिईन् । एमालेको मधेस प्रदेश कमिटी सदस्य समेत रहेकी गुरुङ एमालेको विभिन्न जनवर्गीय संगठनमा समेत सक्रिय छिन् । उनले भूमि समस्या सम्बन्धी आयोगको सदस्यमा रहेर समेत काम गरिसकेकी छिन् । वडाध्यक्षमा निर्वाचित भएपछि उनि वडाको काममा व्यस्त छिन् । जिल्लामै एक मात्रै निर्वाचित महिला वडाध्यक्षको रुपमा आफूलाई उभ्याउन सफल वडाध्यक्ष गरुङसंग निलिसा वर्माले गरेको कुराकानीः

वडाध्यक्षमा निर्वाचित हुनुभएको दुई वर्ष वितेको छ । त्यसमाथि जिल्लाकै एक मात्रै महिला वडाध्यक्ष हुनुहुन्छ । कस्तो अनुभव हुँदैछ ?

म संगसंगै अरु महिला साथीहरु पनि वडाध्यक्षको रुपमा निर्वाचित हुनुभएको भए झनै राम्रो हुने थियो । किनभने हरेक विषयमा कुरा गर्ने, छलफल गर्ने साथीको कमी महसुस हुन्छ । २०८४ मा मलाई लाग्छ हरेक पार्टीले महिलालार्ई अवसर प्रदान गरे भने अन्य वडामा पनि महिलालाई वडाध्यक्षका रुपमा हेर्न पाईन्छ । राजनीतिमा उदय हुने अवसर प्रदान गर्नुपर्छ ।

दुई वर्ष कार्यकालको अनुभव कस्तो रह्यो र आगामी तीन वर्षको योजना कस्तो छ ?

अनुभव त सिक्दै जाने कुरा हो । सिक्दै छु र सिक्ने क्रममा छु । दुई आर्थीक वर्ष काम गरीसके अझ करिब तीन वर्ष बाँकी छ । घोषणा पत्रमा उल्लेखित मेरा योजनाहरु मध्ये कतिपय कामहरु गरे र कतिपय काम कार्यान्वयन गर्न असहज भएको अवस्था छ । व्यक्तिको जिवन र मृत्युसंग जोडिएका विषय रगत निशुल्क प्रदान गर्ने, सर्पदंश, सुत्केरी महिलालाई स्याहार सुसार मेरो योजनामा समावेश छ । किनभने यस वडामा विभिन्न वर्ग, जातजाती तथा धर्मका व्यक्तिहरुको वासोवास छ । उहाँहरुकै लागि मैले बजेट छुट्याए । सुत्केरी अवस्थामा खानपिनको कमी नहोस्, स्याहार सुसारमा कुनै बाधा नहोस भनेर रकम छुट्याएको थिए । निःशुल्क रगत परिक्षण, रगत नपाएर वडाका नागरिकलाई ज्यान गुमाउन नपरोस भनेर बजेट छुट्याउदा मेयरले स्पस्टीकरण मागे । जनता र जनमुखी काम गर्दा पनि पार्टी तथा विभिन्न दलको कारणले काम गर्न असहज भएको छ । असहज अवस्थामा पनि मैले मेरो वडाका नागरिकका लागि छुट्याई सकेको बजेट उपमहानगरपालिकाबाट भुक्तानी नहुँदा पनि व्यक्तिगत रुपमा सहयोग गर्दै आएको छु । र ५–६ जनाले लाभ पनि लिईसकेका छन् । उपमहानगरपालिकाबाट भुक्तानी हुने नहुने विषयमा केहि भन्न सकिन्न ।

शिक्षा क्षेत्रमा परिवर्तन ल्याउने योजनामाथि के–कस्ता काम भयो ?

मैले मेरो घोषणापत्रमा निम्न वर्गीय विद्यार्थीलाई १२ कक्षासम्मको शिक्षा निःशुल्क गर्ने भनेको थिए । अभिभावकबाट कुनै किसिमको शुल्क नलिई विद्यार्थी भर्ना गरेका छौ । त्यसको लागी मैले अघिल्लो वर्ष सात लाख बजेट पनि छुट्याएको थिए । विद्यार्थीहरुले लाभ लिएका छन् र हाम्रो विद्यालयका विद्यार्थीहरुले राम्रो अंक ल्याएर उर्तीण भएका छन् । अंग्रेजी माध्यममा कक्षा पाँच सम्म निशुल्क कक्षा संचालन भईरहेको छ । यदि नगरपालिकाले रकम बढाएर बजेट छुट्याइ दिन्छ भने अंग्रेजी माध्यममा १२ कक्षा पढ्न चाह्ने विद्यार्थीलाइ पनि हामी निःशुल्क पढाउने छौ ।

भूमि समस्या समाधान आयोगमा काम गर्दा के कस्ता समस्या पाउनु भयो र आफ्नो वडामा रहेको भूमि समस्याको समाधानका निम्ति कसरी अघि बढ्दै हुनुहुन्छ ?

भूमि समस्या पनि किसिम किसिमका छन् । आयोगमा रहेर काम गर्दा सुरुवाती क्रममा हामीले वडालाई फारम भर्न निर्देशन दिएका थियौ । ६ महिनाको अन्तरालमा हरेक नगरपालिकाहरुले पनि फारम संकलन गरेर दिए । अव्यवस्थित फारमको फाईलको काम हुँदै गर्दा सरकार ढल्यो र हामीलाई खारेज गरियो । त्यतिबेला संकलन गरेको फारमलाई सिफारिस गरिएको छ । सिफारिसलाई प्रमाणीत गरेर निसा बाडिएको छ । निसा बाडिसकेपछि नाप्ने प्रक्रियामा हुँदा अर्को आयोग ढल्यो । प्रयास गरी रहदा पनि समस्याको समाधाने भईसकेको छैन । मेरो कार्यकालमा चाडो भन्दा चाडो सुकुम्बासी आयोग बनिदियो भने तत्कालै हामी नापीको प्रक्रिया अगाडी बढाएर पूर्जा दिने सोचमा छौ । अहिलेसम्म अव्यवस्थित रहेका ४४ जनालाई मैले रातो पुर्जा दिलाई सकेको छु । खुशी हुनुहुन्छ उहाँहरु । आर्शीवाद पाएको छु ।

महिलाको पक्षमा कस्तो काम गर्दै हुनुहुन्छ ?

अरु कुरा भन्दा मैले महिलाको विषयलाई अलि बढि प्राथमिकता दिएर काम गरेको हुन्छु । महिला जनप्रतिनिधि भएको हुनाले मेरो वडाको महिलालाई हिजोको दिन भन्दा पनि आजको दिनमा महिलाहरुलाई बढी सक्रिय भएको देख्छु । आफ्नो समस्या बारे खुलेर बोल्ने, पीडा पोख्न नि सहज भएको महसुस हुन्छ र मैले पनि उहाँहरुको समस्या सहजै समाधान गर्ने तिर लाग्छु । पुरुष वडा अध्यक्षहरुसंग भन्न नमिल्ने कुरा हुन्छन्, समस्या हुन्छन् र यो विषयमा मेरै वडाका महिलाहरु मात्र नभई अन्य वडाका महिला पनि सहजै आएर समस्या बारे जनकारी गराउने गरेका छन् ।

वडा नं. १४ लाई चिनाउने गरि गरिएका महत्वपूर्ण काम के के हुन् ?

हाम्रो यस वडा कार्यालयको वरिपरिको क्षेत्रमा लगभग आठ कठ्ठा सार्वजनिक जग्गा छ । जसलाई म पर्यटकिय क्षेत्रको रुपमा चिनाउने प्रयास गर्दैछु । उक्त जग्गामा धेरै पुरानो रामजानकी मन्दिर जिर्ण अवस्थामा रहेको छ । यस मन्दिरको व्यवस्थापन गर्नलाई वडाको बजेटले केहि गर्न सकिन्न । यस मन्दिरलाई र यस ठाँउलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न उपमहानगरपालिकाबाट सहयोगको अपेक्षा राखेको छु । प्रदेश तथा संघमा पनि प्रयास गर्दैछु । माननीय रवीन्द्रदास श्रेष्ठले मन्दिरको व्यवस्थापनको लागी २५ लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । नगरपालिकाले दुई–चार करोड छुट्याई दिए राम्रो हुन्थ्यो भन्ने लागेको छ ।

जनताले तपाईमाथि गरेको विश्वासमा आफूलाई कतिको सफल छु जस्तो लागेको छ ?

यो त जनताले मूल्यांकन गर्ने कुरा हो । मैले गर्न सक्ने काम गरिरहेको छु । जनताको समस्या समाधानका लागि दिन–रात, घामपानि, भोक प्यासको वास्तै नगरिकन हिँडेको छु । मेरा वडावासीले मसंग गरेको अपेक्षा पूरा गर्न लागिरहेको छु । मैले सबैको भावना बुझ्छु, सबैको कुरालाई समेट्ने छु, मलाई सहि स्थानमा पुर्यायो भने म मेरा जनताको सेवा गर्छु भन्ने लागेकै कारण मलाई वडाध्यक्षमा निर्वाचित गराउनुभएको छ । मैले मेरा वडावासीलाई जातजाति, वर्ग, समूह वा दलिय हिसाबले कहिले पनि काखा पाखा गरेको छैन् । जनताले अह्राएका काम, जनताको सल्लाह सुझाव अनुसार, सम्पूर्ण दललाई समेटेर मैले काम गरेको छु । अहिलेसम्म सबैले मलाई सहयोग नै गरेका छन् । एकदुई जनाले सहयोग नगर्दैमा वा गलत भन्दैमा म गलत हुने होईन र मैले गर्ने काम प्रभावीत हुने छैन् ।

जनताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

एकदमै राम्रो प्रतिक्रिया पाउँदै छु । तपाईलाई मेरो साथ सहयोग छ, एकदमै राम्रो काम गर्दै हुनुहुन्छ भनेको सुनिरहन पाएको छु । जनताबाट पाउने साथमा कहि कतै कमी हुने छैन जस्ता शब्दले मलाई झन उर्जावान बनाउँछ । आत्मबल बढेर आउँछ ।

तपाईं जस्तै जनप्रतिनिधि बन्न चाहने वा राजनीतिमा आउन चाहने महिलालाई के भन्नुहुन्छ ?

महिलालाई आफ्नो घरबाट बाहिर निस्किन सहज नभएको पनि देखिएको छ । सहज बनाउनका लागि संघर्ष गर्नुपर्छ । राजनीतिमा वा अन्य कुनै क्षेत्रमा जो महिला अगाडी बढ्न चाहनु हुन्छ म उहाँहरुलाई यहि भन्न चाहन्छु कि आउनुस मैले वडा र व्यक्तिगततर्फबाट के सहयोग गर्नुपर्छ म तयार छु । महिला सशक्तिकरण, क्षमता अभिवृद्धि, नेतृत्व विकासका अभियानलाई अघि बढाएकै छु । जुनसुकै पार्टीमा आबद्ध भएपनि राजनीतिमा आउन चाहने महिलालाई स्वागत गर्न आतुर छु । सबै मिलेर सामाजिक कार्य गरौं । आज जिल्लाकै एकमात्र महिला वडाध्यक्ष छु । उपमहानगरपालिको २४ वटै वडामा नभएपनि केही वडाहरुमा महिला वडाध्यक्ष जितेपछि बल्ल म सफल भएको अनुभुती गर्नेछु । महिलालाई पार्टीमा मात्र नराखि माथी पनि राखेर अवसर प्रदान गर्न सबै पार्टीलाई पनि अनुरोध गर्दछु ।

अन्त्यमा, तपाई संगित प्रेमी पनि हुनुहुन्छ । वडाध्यक्षको जिम्मेवारी सम्हालेपछि सांगितिक क्षेत्रको यात्रा कस्तो चल्दै छ ?

कार्यालयको कामले गर्दा एकछिन समय हुदैन् । त्यसकारणले रियाज गर्न सकेको छैन् । समय मिलेको बेला १०–१५ मिनेट रियाज गर्छु तर निरन्तरता दिन सकेको छैन् । अहिले मेरो रुचि भनेको जनताको सेवामा मात्र छ । जनताको काम गर्ने मुख्य जिम्मेवारीमा छु ।

प्रतिक्रिया दिनुहोस्