बाराको निजगढमा एक जना महिलाको शंकास्पद मृत्यु


eShilalekh

२० श्रावण २०८१, आईतवार १३:०५

सिमरा: निजगढ नगरपालिका वडा नम्बर ६ स्थित योजना टोलमा एक जना महिलाको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दिलबहादुर थापाको वर्ष ५० की श्रीमती धनमाया थापा रहेकी छिन। शनिवार बिहान शंकास्पद अवस्थामा मृत्यु भएको हो ।

रगतसहित बान्ता गरेपछि धनमायाको श्रीमानले उनलाई उपचारको लागि निजगढ ९ स्थित सामुदायिक अस्पताल प्रसुति गृहमा लगेका थिए। अस्पतालमा चिकित्सकले धनमायालाई मृतक घोषणा गरेको इलका प्रहरी कार्यालय निजगढका निरीक्षक सुमित कुशवाहाले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानमा कर्तव्य ज्यान सम्बन्धि कुनै लक्षण नदेखिए पनि केही स्थानीय उनको हत्या भएको हुनसक्ने बताएपछि शव पोष्टमार्टमको लागि कलैया अस्पताल पठाइएको प्रहरी निरीक्षक कुशवाहाले जानकारी दिए ।

स्थानीयका अनुसार एक साताअघि श्रीमान र श्रीमतीबीच घरायसी विवादमा कुटाकुट भएको र सो घटनापछि धनमाया अलग्गै कोठमा बस्दै आएकी थिइन ।

सोही घटनापछि धनमायाले अत्याधिक मदिरा सेवन गर्ने गरेको पनि बताइएको छ । निरीक्षक कुशवाहाका अनुसार प्रहरीले घटनाको थप अनुसनधान गरिरहेको र हत्या वा मृत्यु भन्ने बारेमा पोष्टमार्टम रिपोर्टपछि मात्रै पत्ता लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्