बारा प्रहरीद्वारा ठूलो परिमाणमा म्याद गुज्रिएका पेय पदार्थ बरामद


eShilalekh

२० श्रावण २०८१, आईतवार १६:३१

सिमरा: बाराको कलैयाबाट प्रहरीले म्याद नाघेका पेय पदार्थ पेप्सी, स्प्राइट, माउण्टेन ड्यु, स्लाइस, सेभेन-अप र मिरिन्डा नियन्त्रणमा लिएको छ।

विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले कलैया उपमहानगरपालिका वडा नं. १, राजदेवी टोल स्थित केसरी एण्ड केसरी सन्स इम्पेक्सको गोदामबाट यी पेय पदार्थ नियन्त्रणमा लिएको हो।

अमित केसरीको नाममा दर्ता रहेको केसरी एण्ड केसरी सन्स इम्पेक्समा छापामारी गर्दा म्याद नाघेका ४८२ क्यारेट पेप्सी, स्प्राइट, माउण्टेन ड्यु, स्लाइस, सेभेन-अप र मिरिन्डा फेला परेको प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए।

प्रहरी निरीक्षक यादवका अनुसार, फेला परेको ११ हजार ५ सय ६८ बोतल पेय पदार्थहरुको अ.मुल्य रू.८ लाख १९ हजार ४ सय रूपैयाँ बराबर रहेको छ।

नियन्त्रणमा लिइएका यी म्याद नाघेका पेय पदार्थहरु सम्बन्धमा आवश्यक कानूनी प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्