सिम्रौनगढमा एकै परिवारका तीन जना बालबालिकाको मृत्यु, फुड पोइजनको आशंका


eShilalekh

२८ श्रावण २०८१, सोमबार १५:५८

सिमराः बाराको सिम्रौनगढमा एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका ७ का नरेश रामका दुई छोरी र एक छोराको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ९ वर्षीया लालिमा राम, सात वर्षीया पुष्पा राम र पाँच वर्षीय कृष्ण राम रहेका छन् । उनिहरुको मृत्युको कारण खुल्न नसकेपनि फुड पोइजनको आशंका गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार राती घरमै पकाएको माछा र खाना खाएर सुतेका तीनै जना बालबालिका अचानक बिरामी परेका थिए । खाना खाएको केही समयपछि उल्टी र पखालाको समस्या देखिन थालेपछि परिवारका सदस्यले तत्कालै स्थानीय स्वास्थ्य संस्थामा लगेका थिए ।

स्वास्थ्य स्थिती बिग्रदै जान थालेपछि उनिहरुलाई कलैयास्थित प्रादेशिक अस्पताल हुँदै नेशनल मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रममा उनिहरुको आइतबार मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढका अनुसार आफ्नै आमाले पकाएको माछा र खाना खाएर सुतेका बालबालिका अचानक बिरामी परेका थिए । घरमा पकाएको उक्त माछा परिवारका सबै सदस्यले खाएको भएपनि बालबालिका मात्रै बिरामी भएको प्रहरीको भनाई छ ।

प्रारम्भिकरुपमा फुड पोइजनको आशंका गरेको प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्