सिमरामा एएफसी ‘सी’ लाइसेन्स डिप्लोमा कोचिङ कोर्ष सम्पन्न


eShilalekh

२९ श्रावण २०८१, मंगलवार १८:३५

सिमराः जेठ अन्तिम साता सुरु भएको ‘एएफसी सी लाइसेन्स डिप्लोमा कोचिङ कोर्ष’ मंगलबार सम्पन्न भएको छ । फूटवल क्षेत्रमा दक्ष प्रशिक्षक उत्पादन गर्ने उदेश्यसहित जेठ २८ गते सुरु भएको प्रशिक्षण मंगलबार सम्पन्न भएको हो ।

सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा औपचारिक कार्यक्रमको आयोजना गर्दै प्रशिक्षणमा सहभागी २४ जनालाई एएफसी सी लाइसेन्स डिप्लोमा कोचिङ कोर्षको प्रमाणपत्र वितरण गरिएको छ । बारा जिल्ला फूटबल संघद्धारा आयोजित प्रशिक्षणमा मधेस प्रदेशका २३ र बागमती प्रदेशका एक जना सहभागी थिए ।

प्रशिक्षणका सहभागीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, सूर्य नेपाल प्रालिका कारखाना व्यवस्थापक सुरेशकाजी श्रेष्ठ, मधेस प्रदेश फूटबल संघका अध्यक्ष नेपाल कार्कीले सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए ।

एशीयाली फूटवल महासंघ (एएफसी) को प्राविधिक सहयोगमा भएको उक्त कोर्ष पहिलो चरणमा सात दिन र दोस्रो चरणमा पाँच दिन आयोजना गरिएको थियो । पहिलो र दोस्रो चरणको प्रशिक्षणपछि सहभागीले प्राविधिक र फिजिकल फिटनेसमा उतिर्ण हुनुपर्नेछ । उतिर्ण भएकाले मात्रै एएफसीबाट मान्यताप्राप्त सी वर्गको फूटवल प्रशिक्षकको लाइसेन्स पाउनेछन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रशिक्षणमा एशीयाली फूटवल महासंघ (एएफसी) को टेक्निकल अफ एजुकेशन डिपार्टमेन्ट प्रमुख सञ्जित सिंह र एन्फाका प्रशिक्षक चेतनारायण श्रेष्ठले प्रशिक्षण दिएका थिए । सिंहको उपस्थितीमा भएको उक्त प्रशिक्षणलाई एएफसीले मान्यता दिएको छ ।

प्रशिक्षण समापन कार्यक्रममा नगर प्रमुख पौडेलले फूटबलको विकासमा एएफसी सी लाइसेन्स डिप्लोमा कोचिङ कोर्ष कोशेढुंगा सावित हुनेमा आफू आशावादी रहेको बताएका छन् । पौडेलले प्रशिक्षणमा सिकेका कुरा व्यवहारमा लागू गर्दै फूटबलको विकासमा लाग्न समेत सहभागीलाई आग्रह गरेका छन् ।

कार्यक्रममा सूर्य नेपाल प्रालिका कारखाना व्यवस्थापक श्रेष्ठ, मधेस प्रदेश फूटबल संघका अध्यक्ष कार्कीलगायतले मन्तव्य राखेका थिए । बारा जिल्ला फूटबल संघको अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण शम्भुसिंह ठकुरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्