संचारकर्मी झालाई स्वास्थ्य बीमावापतको रकम हस्तान्तरण


eShilalekh

२९ श्रावण २०८१, मंगलवार २०:४५

जनकपुरधामः मधेस प्रदेशको आमसञ्चार प्राधिकरणले जनकपुर एफएममा कार्यरत संचारकर्मी निभाकुमारी झालाई मंगलबार स्वास्थ्य बीमावापतको रकम हस्तान्तरण गरेको छ । प्राधिकरणको कार्यालयमा आयोजित कार्यक्रमकाबीच अध्यक्ष श्यामसुन्दर यादवले झालाई २३ हजार पाँच सय ४५ रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।

जनकपुर एफएम र केपी खबरमा कार्यरत झाले गत चैत्रमा बिरामी भई जनकपुर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराएकी थिईन् । उक्त उपचारपछि राष्ट्रिय बीमा कम्पनीबाट प्राप्त सुविधावापतको रकम प्राधिकरणका अध्यक्ष यादवले हस्तान्तरण गरेका हुन् ।

मधेश प्रदेश सरकारको मन्त्री परिषद्बाट पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमा सम्बन्धी कार्यविधि २०७९ पारित भएसंगै आमसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७९/०८० मा जीटुजी पोलिसी अन्तर्गत राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग एक सय १० जना महिला पत्रकारको बीमा गराएको थियो । उक्त बीमा कार्यक्रमबाट यसअघि नेपाल पत्रकार महासंघ बाराकी सदस्य रञ्जना खतिवडालाई २६ हजार ६ सय ७३ रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

प्राधिकरणका कम्प्युटर अधिकृत प्रसन्नराज कर्णका अनुसार बीमाको सुविधा रकम उपलब्ध गराउनका लागि थप दुई जना महिला पत्रकारको नाम राष्ट्रिय बीमा कम्पनी जनकपुरधाममा सिफारिस गरिएको छ । उक्त रकमको चेक आए लगत्तै हस्तान्तरण गरिने अधिकृत कर्णले जानकारी दिए ।

प्राधिकरणले आर्थिक वर्ष २०८१।८२ मा मधेस प्रदेशका सबै पत्रकारको बीमा गर्ने तयारी गरेको छ । जसका लागि ३० लाख रकम विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्