संयमित भएर नेतृत्वदायी भूमिका खेल्न नगर प्रमुख पौडेललाई एमालेको आग्रह


eShilalekh

३१ श्रावण २०८१, बिहीबार १२:०७

सिमराः नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीले नगर प्रमुख राजन पौडेललाई संयमित भएर नेतृत्वदायी भूमिका खेल्न आग्रह गरेको छ । सिमरास्थित विद्यालयमा साउन २९ गते भएको घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको जनाउँदै एमाले जीतपुरसिमरा नगर कमिटीले विज्ञप्ति जारी गरेर नगर प्रमुख पौडेललाई संयमित हुन आग्रह गरेको हो ।

नगर कमिटीका सचिव रत्नप्रसाद उप्रेतीद्धारा जारी विज्ञप्तिमा शिक्षक सरुवा सन्दर्भमा वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठमाथि नगर प्रमुख पौडेलद्धारा गरिएको अभद्र व्यवहारप्रति नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीको गम्भीर ध्यानाकर्षण उल्लेख गर्दै शिक्षक सरुवाको विषयमा उत्पन्न समस्यालाई सहमति र सहकार्यबाट समाधान गर्न आग्रह गरिएको छ ।

विद्यालय संचालन भईरहेको समयमा नगरको अभिभावक नेपाल प्रहरी, नगर प्रहरी र आफू सम्बद्ध पार्टीका कार्यकर्ताहरुसहित विद्यालय हाताभित्र प्रवेश गरि विद्यार्थीहरुलाई मनोवैज्ञानिक ढंगबाट त्रसिद् बनाई वडाध्यक्ष श्रेष्ठ र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीमाथि गरिएको अभद्र व्यवहारको भर्त्सना गरिएको विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो पदीय मर्यादा ख्याल नै नगरी विद्यालय हाताभित्र भएको उक्त दृश्यले आमनगरबासीलाई लज्जित तुल्याएको भन्दै एमालेले संयमित र सद्भावको वातावरण निर्माण गरि अघि बढ्न विज्ञप्तिमार्फत अनुरोध गरेको छ । एमालेले शिक्षकको शिक्षण गर्न पाउने अधिकारलाई समेत सुनिश्चित गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्