बारा प्रहरीद्वारा ६३ लाख बराबरको भन्सार छलीका सामान बरामद
सिमराः बारा प्रहरीले ठूलो मात्रामा भन्सार छलीका सामान बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी टोलीले हिजो राति जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा ६३ लाख ५३ हजार ३८१ मूल्य बराबरको भन्सार छलीका सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले वीरगञ्जबाट बाँकेतर्फ जाँदै गरेको ना ४ ख ५४०६ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा बिल बिजक भन्दा बढीको भन्सार छलीका सामान बरामद गरिएको बारा प्रहरीका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।
पक्राउ परेका सामानहरूमा मोबिल, हार्डवेयर, कपडा, प्लाष्टिक, औषधी, किराना सामान लगायतका अन्य खुद्रा सामानहरू रहेको छ । बरामद भएका सामानसहित ट्रकलाई आवश्यक कारबाहीका लागि राजश्व कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।