एशिएन गेम्स खेलेका जैकीको लक्ष्य ‘ओलम्पिक’
सिमराः चिनमा सम्पन्न १९औं एशियाली खेलकुदमा सहभागिता जनाएका वीरगन्जका जैकी यादव अत्यन्तै सम्भावना बोकेका युवा राष्ट्रिय तेक्वान्दो खेलाडी हुन् । उनि भर्खरै १८ वर्षका भए ।
सानो उमेरमै नेपालको प्रतिनिधित्व गर्दै उनि एशियाली खेलकुद खेल्न चिनको हाङझाउ पुगेका थिए । नेपालमा भएको छनौट चरण पार गर्दै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न चिन पुगेका जैकी पहिलो खेलमै पराजित भएपनि थुप्रै अनुभव र लक्ष्य बोकेर नेपाल फर्किएका छन् ।
उमेर सानो भएपनि ८० किलो भन्दा माथिको तौल समूहमा जोर्डनका खेलाडीसंग पराजित भएका जैकीको लक्ष्य ओलम्पिक खेल्ने छ । यो सहज छैन भन्ने कुरामा उनि पनि जानकार छन् । त्यसका लागि आफूले अथक मेहनत गर्नुपर्ने र आफ्नो उक्त लक्ष्य पूरा गर्नेमा उनि विश्वस्त पनि छन् ।
वीरगन्ज बहुअरीका जैकी विभागीय टिम नेपाल आर्मीमा आवद्ध छन् । उनी दुई वर्षदेखि आर्मी क्लबमै रहेर तेक्वान्दो प्रशिक्षण गर्छन् र राष्ट्रिय स्तरको प्रतियोगितामा आर्मीबाटै सहभागिता जनाउँछन् । आर्मीमा आवद्ध भएर तेक्वान्दो खेलमा आफूलाई अभ्यस्त बनाईरहेका छन् जैकी।
नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता खेल्ने जैकी वीरगन्जको पछिल्लो युवा पुस्ता हुन् । यसअघि वीरगन्जका थुप्रै तेक्वान्दो खेलाडीले यो अवसर प्राप्त गरिसकेका छन् । वीरगन्जबाट तेक्वान्दोको सुुरुवात गरेर अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता नेपालको तर्फबाट खेल्न पाउँनु जैकीका लागि ठूलो उपलब्धी हो । उनको यो उपलब्धिका पछाडी उनका दाई श्रीकान्त यादवको महत्वपूर्ण योगदान छ ।
वीरगन्ज महानगरपालिका २४ बहुअरीबाट चिनको हाङझाउसम्मको यात्रामा जैकीलाई दाई श्रीकान्तले पूर्णरुपमा साथ र सहयोग दिँदै आएका छन् । जैकी पनि आफूले हासिल गरेको उपलब्धिका पछाडी दाइ श्रीकान्तको योगदान रहेको बताउँछन् ।
२०६२ साल फाल्गुन २५ गते बुवा बिष्णुदेव र आमा मञ्जुदेवीको चौथो सन्तानको रुपमा जन्म लिएका जैकी स्कुल पढ्ने उमेरमा झगडा गर्ने स्वभावका थिए । उनको यो स्वभावले दिक्क भएका दाइ श्रीकान्तले उनलाई सन् २०१७ मा वीरगन्ज तेक्वान्दो डोजाङमा भर्ना गराईदिए । झगडा गर्ने बानी सुर्धानका लागि तेक्वान्दो खेल्न लगाइएका जैकी आज नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँछन् ।
तेक्वान्दो खेल्न थालेको केही महिनामै प्रशिक्षक महमद सकिलको मन जित्न सफल जैकीले त्यसपछि अवसरका लागि धेरै कुर्नु परेन । उनले खेल्न थालेको केही समयपछि नै प्रतियोगितामा सहभागिता जनाउँन थाले । पहेलो बेल्टमै उनले काठमाडौंको दशरथ रंगशालामा भएको दोस्रो काठमाडौं च्याम्पियनशिप खेल्ने अवसर पाए । त्यो उनको पहिलो अन्तर्राष्ट्रिय खेल थियो । उक्त खेलमा उनि पदकविहिन भए । तर उनले हौसला कम हुन दिएनन् ।
जैकीले २०७५ सालमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा मधेस प्रदेशका लागि तेक्वान्दो खेलमा एक मात्रै पदक जित्न सफल भए । उनले आठौंमा कास्य पदक जित्दा अन्य तेक्वान्दो खेलाडी पदकविहिन भए । आठौं राष्ट्रियमा कास्य जितेका जैकीले बेनीमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा रजत पदक जित्न सफल भए ।
जैकीले नेपाल र भारतमा भएका प्रतियोगितामा सहभागिता जनाएर थुप्रै पदक जितिसकेका छन् । उनले सन् २०२० मा सम्पन्न दोस्रो माउन्ट एभरेष्ट च्याम्पियनशिपमा स्वर्ण पदक जितेका छन् । यसैगरी भारतको नयाँ दिल्लीमा भएको एशियन सिक गेममा पनि स्वर्ण हात पारेका छन् । यसबाहेक निजगढ तेक्वान्दो च्याम्पियनशिप र पर्सा तेक्वान्दो च्याम्पियनशिपमा रजत जितेका छन् । तेक्वान्दोमा सम्भावना देखेपछि उनका दाइ श्रीकान्तले उनलाई आर्मीमा आवद्ध गराएका थिए । आर्मीमा भएपछि राम्रो प्रशिक्षण पाउँने र अझै राम्रो नजिता ल्याउनेमा दाइ आशावादी थिए ।
वीरगन्ज पब्लिक स्कुलबाट हालै कक्षा १२ उतिर्ण गरेका जैकी तेक्वान्दोमै भविष्य बनाउँन चाहन्छन् । उनको लक्ष्य भनेको २०औं एशियाली खेलकुदमा पदक जित्ने र ओलम्पिक खेल्ने रहेको छ । चिनमा भएको एशिएन गेम्समा पदक हारको बदला लिएर अर्को एशिएन गेम्समा पदक जित्ने जैकीको इच्छा छ ।
सामान्य परिवारमा जन्म लिएका जैकीका अभिभावक पनि इच्छा पूरा गराउन लागिपरेका छन् । उनलाई आवश्यक पर्ने सामाग्री र आर्थिकको जोहो नेपाली सेनाका जागिरे उनका दाई श्रीकान्तले पूरा गर्छन् । भाइलाई नेपालकै राष्ट्रिय खेलाडी बनाउन सफल भएका श्रीकान्त अझै पनि सहयोग गर्न पछि परेका छैनन् । आफ्नो हरेक आवश्यकता पूरा गर्न दाइ श्रीकान्त सधै तयार रहेको जैकी बताउँछन् ।
‘आज म जुन स्थानमा छु मेरो दाइको कारण छु, दाइले मलाई यति सहयोग नगर्नुभएको भए म खेलमा अघि बढ्न सक्दिन थिए हो’ जैकीले भने ’मैले अहिले खेल्ने बाहेक अरु कुरामा केही सोच्नुपरेको छैन । यसको पछाडी दाइको नै महत्वपूर्ण साथ र हात छ’ ।
वीरगन्जबाट नेपालका लागि प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरको खेलमा सहभागिता जनाएपनि स्थानीय सरकार र अन्य क्षेत्रबाट खासै सहयोग प्राप्त नगरेको उनी बताउँछन् । अन्य ठाँउका खेलाडीलाई स्थानीय सरकारले गर्ने सहयोग हेरेर आफूले पनि त्यस्तो सहयोग पाएमा अझै उर्जा मिल्ने उनको भनाई छ । ‘अन्य स्थानीय तहका मेयर, उपमेयर, सांसदहरु खेलाडीलाई भेट्न र हौसला प्रदान गर्न काठमाडौं नै पुग्नुभएको देखे’ जैकीले भने ‘तर मैले हाम्रो क्षेत्रबाट त्यो महसुस गर्न सकिन । अरुको त्यस्तो देखेपछि आफ्नो पनि कोही आएर उर्जा थपिदियोस भन्ने हुँदो रहेछ । तर त्यस्तो अवस्था नभएपछि निकै भावुक बनिदो रहेछ’ ।
एशिएन गेम्सको तयारीका लागि काठमाडौंमा बस्ने क्रममा अन्य खेलाडीलाई भेटन मान्छे आउने र आफूलाई भेट्न कोही पनि नआउँदा आशु थाम्न नसकेको अनुभव समेत उनले सुनाए । आफूले अध्ययन गरेको विद्यालय र कलेजले समेत नसम्झिएको जैकीलाई दुःख लागेको छ । आफूलाई मात्रै नभएर हरेक खेलका खेलाडीलाई हौसला र उर्जा थपिदिने मान्छे भएमा पनि नतिजा राम्रो हुने सम्भावना अधिक हुने जैकीको भनाई छ । जैकी तेक्वान्दो खेलबाट देश र आफ्नो ठाउँका लागि पदक जित्न चाहन्छन् । त्यसका लागि उनि आर्मी क्लबमा बसेर मेहनत गरिरहेका छन् ।