निजगढबाट लागूऔषध कारोबारमा संलग्न एक ब्यक्ति प्रक्राउ
सिमराः बारा, पर्सा, रौतहट लगायतका अन्य जिल्लामा लामो समयदेखि अवैध लागू औषधको कारोबार गर्ने एक व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहट फतुवा विजयपुर–७ घर भएका २४ वर्षीय राम विनय प्रसाद पटेल रहेका छन् । लागू औषधका विभिन्न मुद्धामा फरार रहेका पटेललाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
पटेलविरुद्ध विभिन्न जिल्लामा पक्राउ पुर्जी जारी भएको थियो । निजगढ नगरपालिका–९ सहिद चोकबाट पटेललाई नियन्त्रणमा लिन प्रहरी सफल भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख तथा प्रहरी निरिक्षक सुमित कुशवाहले जानकारी दिए ।
यसअघि प्रहरीले गत असार १ गते निजगढ नगरपालिका ७ घर भएका ३३ वर्षीय विकास रुम्बालाई पक्राउ गरेको थियो । प्रहरीले रुम्बालाई २५० वटा लागूऔषध ट्रामाडोल ट्याबलेटसहित पक्राउ गरेको थियो । रुम्बाले आफ्नो बयानमा पटेलसंग ट्याबलेट खरिद गरी निजगढका विभिन्न प्रयोगकर्तालाई विक्रि गर्ने काम गर्दै आएको बताएका थिए ।
बयानकै आधारमा निजगढ प्रहरीले पटेललाई प्रक्राउ गरेको हो । उनी ईलाका प्रहरी कार्यालय निजगढको लागूऔषध मुद्धा नम्बर ८० को चालु मुद्धाका फरार प्रतिवादीसमेत हुन् ।
यस क्षेत्रबाट भारततर्फ विशेष गरी लागू औषध गाँजा निर्यात हुने गरेको छ भने भारतबाट नेपालमा लागुऔषध ट्रामाडोल ट्याबलेटलगायत आयात हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।