वर्षासंगै आएको बाढीले जीतपुरसिमरामा घर भत्कियो, गुडिरहेको कार बगायो (तस्वीरहरु)
सिमराः वर्षासंगै आएको बाढी बस्तीमा पसेपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ शान्तिटोलमा एक स्थानीयको घर भत्किएको छ । बर्षापछि भाङ्ग्रे खोलामा आएको बाढी, बस्तीमा पस्दा स्थानीय सुनिल साहको पक्की घर भत्किएको हो ।
साह नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक हुन् । उनि जिल्लाबाहिर कार्यरत छन् । घरमा उनको परिवारका सदस्य बस्दै आएका थिए । बाढीले घर भत्काएपछि स्थानीय र सुरक्षाकर्मी मिलेर परिवारका सदस्यको उद्धार गरेका छन् भने भत्किएको घरबाट सामान निकाल्ने क्रम जारी छ ।
यता बाढीले बजनीमा गुडिरहेको एउटा कार बगाएको छ । जीतपुरका व्यवसायी शिवजी साह सोनारलगायत चार जना सवार कार बाढीले बगाएको हो । बाढीले कार बगाएपछि एक स्थानीयले उनिहरुलाई उद्धार गरेका थिए । बाढीले बगाएको कारलाई डोरीले रुखमा बाधेर राखिएको छ ।
उता जीतपुरसिमरा उपमहानगरपालिका ५ स्थित खाल्का टोल डुबानमा परेको छ । अत्यधिक वर्षापछि आएको बाढीले सयौं घर रहेको बस्ती डुबानमा परेको हो । बस्ती डुबानमा परेपनि स्थानीय भने सुरक्षित छन् । वर्षाले सोही वडामा रहेको सशस्त्र प्रहरीको बेस क्याम्प, स्वास्थ्य चौकी समेत डुबानमा परेको छ ।
यसैगरी बर्षासंगै आएको बाढीले शुक्रबार बिहान जीतपुरसिमराको सिमरा बजार, एयरपोर्ट रोड, पावर हाउस, नरबस्ती, बजनी जलमग्न बनेको थियो । वर्षा रोकिएपछि बजार क्षेत्रमा आएको बाढी भने घटेको छ । बर्षाले सडक जलमग्न बनेपछि केही विद्यालयले आकस्मिक सूचना जारी गर्दै विद्यालय बन्द गरेका छन् ।
जीतपुरसिमराका नगर प्रमुख राजन पौडेलले बाढी र डुबान प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । वर्षासंगै आएको बाढीले स्थानीयस्तरमा क्षति पुर्याएपछि जीतपुरसिमरा उपमहानगरपालिकाको नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भईरहेको छ ।