पेट्रोलियम पदार्थको मूल्य घट्यो


eShilalekh

१६ भाद्र २०८१, आईतवार ११:४०

सिमराः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर पाँच रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत् रहेको छ ।

निगमका अनुसार अब चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ ५० पैसा पर्नेछ भने डिजेल र मट्टीतेलको मूल्य १५१ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

त्यस्तै, सुर्खेत र दाङ लगायत क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ कायम गरिएको छ ।

यसैगरी, पोखरा, काठमाडौं, दिपायल लगायत क्षेत्रमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य १५४ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्