‘डेंगीको उपचारमा लापरवाही भए संक्रमितको ज्यान पनि जान सक्छ’
देशभर डेंगी संक्रमितको संख्या बढिरहेको छ । डेंगी एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो हो । वर्षायाम र त्यसपछिको समयमा यो लामखुट्टे निकै ठूलो संख्यामा देखापर्छ । पानी जम्ने अवस्था सिर्जना भए यो लामखुट्टे कुनै पनि मौसममा देखापर्न सक्छ तर वर्षा र गर्मीको मौसममा यसले डेंगीलाई विस्तार दिन सक्छ । यसको संक्रमणको सुरूका दिनमा एक्कासी उच्च ज्वरो आउने हुन्छ । विस्तारै आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेलगायतका लक्षण देखापर्छ । डेंगी संक्रमण हुँदा रक्तचाप कम हुन्छ । जसकारण डेंगी बिरामी सिकिस्त भएर बेहोस पनि हुन सक्ने चिकित्सकको भनाई छ । लामखुट्टेको टोकाइबाट मुलुकभर डेंगीको संक्रमण निकै बढेको छ । डेंगी कसरी हुन्छ ? जोगिने कसरी? उपचार तथा रोकथाम जस्ता बिषयलाई समेटेर जीतपुरसिमरा नगर अस्पतालका मेडिकल सुप्रिटेण्डेन्ट डा. प्रकाश साहसंग निलिसा वर्माले गरेको कुराकानीः
डेंगी के हो ? के कारणले हुन्छ ?
डेंगी भनेको लामखुट्टेको टोकाईबाट सर्ने एक प्रकारको संक्रमण हो । डेंगीको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो संक्रमण व्यक्तिमा सार्ने गर्दछ । संक्रमितलाई उच्च तापक्रमको ज्वरो आउने गर्छ । संक्रमितको आँखा रातो हुने, टाउको दुख्ने, पेट दुख्ने, जोर्नी र मांसपेशी दुख्ने र आलस्य हुने लगायतका लक्षणहरु देखिन्छ । एडिज लामखुट्टे जमेको पानीमा जन्मने र हुर्कने गर्छ । गर्मी एवम् वर्षाको समयमा यो संक्रमण फैलने दर बढी हुन्छ ।
यसको संक्रमण कसरी फैलिन्छ ?
डेंगी एकबाट अर्कोमा फैलने संक्रमण हो । एडिज इजिप्टी नामक लामखुट्टेले एउटा डेंगी संक्रमितलाई टोकेपछि अर्को स्वस्थ मानिसलाई टोक्दा यो संक्रमण फैलिन्छ । यसको असर चार देखि सात दिनसम्म देखिन्छ । पीडितको शरीरमा रहेको डेंगीको भाइरस लामखुट्टेमार्फत् नै एउटा शरीरबाट अर्को शरीरमा पुग्छ । एक व्यक्तिदेखि अर्को व्यक्तिमा सर्ने माध्यम लामखुट्टे मात्र हो ।
यसका लक्षणहरु के–के हुन् ?
डेंगीको मुख्य लक्षण उच्च तापक्रमको ज्वरो हो, जुन १०४ डिग्रीसम्मको हुन्छ । यसका साथै टाउको दुख्ने, आँखा दुख्ने, ढाड, जोर्नी तथा मांसपेशिहरू दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, रक्तश्राव हुने वा बेहोस हुने जस्ता लक्षणहरू पनि देखा पर्न सक्छ । डेंगीको लक्षणलाई तीन प्रकारमा बिभाजन गरिएको छ । पहिलो प्रकारमा डेंगु भएपनि खतराको लक्षण देखिदैन् । संक्रमित भएपनि अवस्था सामान्य हुन्छ । दोस्रो प्रकारको लक्षणमा डेंगी सहित केहि खतराको लक्षण जस्तै उच्च ज्वरो आउनु, शरीर दुख्नुका साथै नाक, गिजा अथवा दिसाबाट रगत आउने जस्ता लक्षण देखिन्छ भने तेस्रो प्रकारको डेंगीमा ज्वरोसँगै मानिस निकै अधैर्य हुन्छ, कडा ज्वरोसँगै शरीरले चिसो अनुभव गर्छ, संक्रमितले विस्तारै होस गुमाउन थाल्छ, संक्रमितको रक्तचाप अचानक घट्ने जस्ता लक्षण देखिन्छ । पहिलो प्रकारको डेंगी उपचारबिना आफैं पनि ठीक हुन सक्छ र यो डेंगुले मानिसको मृत्यु हुने सम्भावना कमै हुन्छ । तर दोस्रो र तेस्रो प्रकारको डेंगीको लक्षण देखिदा तत्काल उपचार नगर्ने हो भने मानिसको मृत्युसम्म हुन सक्छ । त्यसैले सबैभन्दा पहिले डेंगीको संक्रमण कुन किसिमको हो त्यो जानकारी लिनुपर्छ । त्यसको लागि रगत जाँच गरेर उपचार गरिन्छ । यसको उपचार समयमै नगरे संक्रमितको ज्यान जाने सम्भावना पनि हुन्छ ।
रोकथाम गर्न के–कस्ता उपाय अपनाउन सकिन्छ ?
सर्वप्रथम लामखुट्टेको टोकाईबाट बच्ने । त्यसको लागि सुत्ने बेलामा अनिवार्य झुल लगाउने । वरिपरि पानी जम्न नदिने । पूरै शरीर ढाकिने खालका कपडा लगाएर बस्नुपर्छ । यसबाट जोगिने पहिलो उपाय र रोकथाम भनेको नै लामखुट्टे नियन्त्रण गरेर आफ्नो शरीरको हेरचाह गर्नु हो । जसको लागि पानी जम्न सक्ने भाँडा बाहिर नराख्ने, पानीको ट्यांकीमा लामखुट्टे पस्न नदिने गरी राम्ररी ढाकेर वा बिर्को लगाएर राख्ने, फुलदानी वा गमलामा रहेको पानी हप्तामा दुई पटक फेर्ने, राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरका झ्याल ढोकामा सकेसम्म जाली लगाउनुपर्छ ।
डेंगी संक्रमण भएपछि के–कस्ता घरेलु उपचार गर्न सकिन्छ र कस्तो अवस्थामा अस्पताल जाने ?
सामान्य अवस्थामा संक्रमितलाई बढिभन्दा बढि पानी तथा तरल पदार्थजन्य खानेकुरा सेवन गर्नुपर्छ । सकेसम्म तातो पानि खाने र सरसफाईमा ध्यान पुर्याउनुपर्छ । तर संक्रमितलाई कडा ज्वरो, बान्ता, रक्तश्राव, जिउ र पेट दुख्ने, कमजोरी भएर रक्तचाप घट्दा, सेतो रगत कम भएमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार गर्नुपर्छ ।
यस नगर अस्पतालमा कतिको संख्यामा डेंगी संक्रमीत बिरामी आउने गरेका छन् ? के–कस्ता लक्षण देखापरेको छ ?
प्रत्येक दिन २–३ जना डेंगीका संक्रमित आईरहनुभएको छ । असार महिना लागेदेखि ज्वरो लागेका संक्रमितको चाप बढेको छ र उपचारका क्रममा २–३ जनालाई डेंगी संक्रमण देखिएको हुन्छ । माथि भने अनुसार हामीले लक्षणलाई तीन प्रकारमा विभाजन गरेका हुन्छौ । यहाँ (अस्पताल) मा आउने संक्रमितमा कि त सामान्य लक्षण हुन्छ, कि त उच्च ज्वरो आएको हुन्छ । तर प्रत्येक संक्रमितको प्लेटलेट्स सुरुमै जाँच गरिन्छ । यदि प्लेट्लेट्स ५० हजार भन्दा भन्दा कम र बच्चामा एक लाख भन्दा कम छ भने भर्ना गर्नुपर्छ । सामान्य अवस्थामा औषधी र झोल पदार्थको सेवन गर्न सल्लाह दिएका हुन्छौ । संक्रमितको अवस्था हेरेर कलेजोको जाँच पनि गरिन्छ । परिक्षणको रिपोर्ट अनुसार नै उपचार गरिन्छ । कतिपय बिरामीले ज्वरो लाग्यो भने आफैले किनेर औषधी सेवन गर्छन् । यस्ता औषधीको सेवन चिकित्सकको सल्लाह बिना गर्नु हुदैन । त्यसले गर्दा रगतमा प्लेटलेट्सको संख्या कम हुन सक्छ ।
गर्भवती महिलालाई डेंगी छ भने जन्मिने सन्तान संक्रमित हुने सम्भावना हुन्छ ?
गर्भवती महिलाको प्लेटलेट्स कम देखिएको छ । कलेजो र मृगौलाको जाँचमा पनि समस्या देखिएको छ भने जन्मिने सन्तानलाई ज्वरो आउन सक्छ तर त्यो ज्वरो डेंगी हो भन्न सकिन्न । बच्चाको पनि रगत जाँच पछि नै थाहा हुन्छ । यदि गर्भवती महिला संक्रमित भएपनि अवस्था सामान्य छ भने बच्चालाई सर्दैन ।
डेंगी नियन्त्रणकालागी स्थानिय सरकारको भूमिका कस्तो हुनुपर्छ ?
स्थानीय सरकारले फोहोर व्यवस्थापनमा एकदमै ध्यान दिनुपर्छ । अस्पताल र वरपरको क्षेत्र पनि सफा हुनुपर्छ । लामखुट्टे बस्ने र विकास हुने ठाउँमा सफाइ गर्नुपर्ने, लामखुट्टे खोज्ने र नष्ट गर्ने कार्यसहित डेंगी नियन्त्रणको योजना बनाउनुपर्छ । जनताको प्रत्यक्ष सहभागितामा सरसफाइ, नागरिकका जीवनशैली, रोग रोकथाम र स्वास्थ्य प्रवर्द्धनका कार्यक्रममा बढी समय र प्राथमिकता दिने व्यवस्था गर्नुपर्छ । सरकारको डेंगी नियन्त्रणसम्बन्धी प्रभावकारी नीति हुनुपर्छ ।