बाराका एक सय १० वटा कृषि सहकारी संस्थालाई सम्पर्कमा आउन ३५ दिने सूचना


eShilalekh

२५ भाद्र २०८१, मंगलवार १५:५४

सिमरा: साना किसान कृषि सहकारी संघ लिमिटेड बाराले जिल्लाका ११० वटा कृषि सहकारी संस्थालाई सम्पर्कमा आउन ३५ दिने सूचना जारी गरेको छ ।

भदौ १४ गते संघले जारी गरेको सूचना अनुसार तोकिएको म्यादभित्र सहकारी संस्थाहरु सम्पर्कमा नआए त्यस्ता सहकारीको सदस्यता खारेज गरिने कृषि सहकारी संघ बाराले जनाएको छ । अध्यक्ष मिश्रिलाल सहनीको अध्यक्षतामा बसेको साना किसान कृषि सहकारी संघ लिमिटेड बाराको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्लाका एक सय १० वटा कृषि सहकारी संस्था तीन देखि पाँच वर्षसम्म सम्पर्कमा नआएको र नवीकरण समेत नगरेकाले सूचना जारी मितिले ३५ दिनभित्र सम्पर्कमा आएर संस्था नवीकरण गर्न भनिएको अध्यक्ष सहनीले बताएका छन् ।

कुनै कारोबारमा संलग्न नहुने, नियमित कार्यक्रमहरुमा भाग समेत नलिने र बार्षिक साधारण सभामा बोलाउँदा समेत सहभागी नहुने सहकारीलाई नियमानुसार कारबाही गरी सदस्यता समेत खारेज गरिने उनको भनाई छ ।

संघमा एक सय ५७ वटा कृषि सहकारी संस्था सदस्य रहेका छन् । संघले वार्षिक एक हजार पाँच रुपैयाँ नवीकरण शुल्क निर्धारण गरेको छ ।

संघका प्रबन्धक नविन चौधरीका अनुसार जमुनीमाई कृषि सहकारी संस्था खोपवा, उत्पादनशील कृषि सहकारी संस्था लि. निजगढ, औराह पशुपालन कृषि सहकारी संस्था लि. जीतपुरसिमरा ४ बारा लगायत एक सय १० वटा संस्थाहरू सम्पर्कमा नआएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्