दुर्घटनामा घाईते भएका युवकको मृत्यु, वीरगन्जको अलौंमा बिहानैदेखि प्रदर्शन
सिमराः ट्यांकरको ठक्करबाट स्थानीय युवकको मृत्यु भएको घटनाको विषयलाई लिएर वीरगन्ज महानगरपालिका १७ अलौंस्थित एकीकृत भन्सार जाँच (आइसिपी) क्षेत्र शुक्रबार बिहानैदेखि तनावग्रस्त छ । घटनाको विरोध गर्दै स्थानीयले बिहानैदेखि सडकमा टायर बालेर प्रदर्शन थालेका छन् ।
आइसिपी चोकमा विहीबार दिउँसो ना६ख ७५०३ नम्बरको ट्यांकरले ना२९प ६९५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २२ वर्षीय टिनुकुमार साह तहरा गम्भीर घाईते भएका थिए । उनको उपचारका क्रममा विहीबार राती निधन भएको छ ।
युवकको मृत्यु भएपछि स्थानीय अझ बढी आक्रोशित भएका छन् । स्थानीयले विहीबार दिउँसो पनि प्रदर्शन गरेका थिए ।
स्थानीयले ट्यांकर चालकलाई कारवाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् । प्रहरीले ट्यांकरसहित चालकलाई घटनालगत्तै नियन्त्रणमा लिईसकेको छ ।
तस्वीरः FLOP Birgunj