जीतपुरसिमराको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव भारती आउने


eShilalekh

३० भाद्र २०८१, आईतवार १९:४८

सिमरा:  जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव वीरेन्द्रदेव भारती आउने भएका छन् । ४० जना सहसचिवको सरुवा गर्ने क्रममा सरकारले सहसचिव भारतीलाई जीतपुरसिमरामा पठाउने निर्णय गरेको हो ।

मन्त्रीपरिषद्को भदौ २७ गते बसेको बैठकले ४० सहसचिवको सरुवा गर्ने निर्णय गरेको थियो । सो क्रममा मन्त्रालयले अतिरिक्त समूहमा रहेका भारतीलाई जीतपुरसिमरा पठाउने भएको हो ।

जीतपुरसिमरामा यसअघि उपसचिव उर्मिला काफ्ले प्रमुख प्रशासकीय अधिकृत रुपमा कार्यरत थिइन् । काफ्लेलाई पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघिनै सरुवा गरिसकेको छ । तर काफ्लेले उक्त सरुवाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उक्त रिटको फैसला हुन बाँकी छ ।

सहसचिवको दरबन्दी रहेको जीतपुरसिमरामा सरकारले लामो समयपछि सहसचिवलाई नै पठाउन लागेको  हो ।  जीतपुरसिमरा यसअघि सहसचिव शिवकुमार कार्की, बैकुण्ठनिधी शर्माले प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्