जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फूटबल मंगलबारदेखि सुरु


eShilalekh

३१ भाद्र २०८१, सोमबार २१:५८

सिमरा: देशकै सर्वाधिक राशिको जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फूटबलको चौथो संस्करण मंगलबारदेखि सुरु हुँदैछ । सिमरा भेट्रान क्लबले प्रतियोगिता आयोजनामा असोज १ गतेदेखि सिमरा रंगशालामा प्रतोयोगिता सुरु हुन लागेको हो ।

असोज ५ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार नगद प्राप्त गर्नेछन् । विजेताले प्राप्त गर्ने उक्त प्रथम नगद पुरस्कार देशभरीमै आयोजना हुने भेट्रान फूटबल प्रतियोगिता मध्येकै सर्वाधिक रहेको आयोजकको जनाएको छ ।

आयोजकले गत वर्षको पुरस्कार राशिमा एक लाख थप गर्दै तीन लाख पुर्याएको हो । अघिल्लो वर्ष विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गरेको थियो ।

आयोजक क्लबका अध्यक्ष राजकपुर राउतले देशभरीकै सर्वाधिक राशिको नगद पुरस्कारसहित प्रतियोगिता आयोजना गर्न लागिएको बताए । सिमरा रंगशालामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राउतले प्रतियोगितामा नेपाल र भारतका गरी १४ टिमको सहभागिता रहने जानकारी दिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना हुने प्रतियोगितालाई हुलास स्टील्स्ले मुख्य प्रायोजन गर्ने भएको छ भने सहप्रायोजकमा जगदम्बा स्टील्स्, नेपाल ल्यूब आयल, युआर गोल्ड प्रिमियम मसला रहेका छन् । प्रतियोगितालाई जीतपुरसिमराका सबै वडा र क्वेस्ट फर्मास्युटिकल्सले सहयोग गर्ने समेत अध्यक्ष राउतले जनाएका छन् ।

पत्रकार सम्मेलनमा बारा जिल्ला फूटबल संघका अध्यक्ष रामचन्द्र लामा, नवजनजागृती युवा क्लबका बरिस्ठ उपाध्यक्ष शंकर थापा, आयोजक क्लबका सचिव हरी चौधरी लगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्