सिमरामा अन्तर्राष्ट्रिय भेट्रान फूटबल प्रतियोगिता सुरु, कटारी र सिक्किम बिजयी


eShilalekh

१ आश्विन २०८१, मंगलवार १९:५५

सिमराः उदयपुरको कटारी फूटबल क्लब र भारत सिक्किमको रियल फ्रेण्ड भेट्रान क्लबले चौथो अन्तर्राष्ट्रिय जीतपुरसिमरा भेट्रान फूटबल प्रतियोगितामा बिजयी सुरुवात गरेका छन् ।

सिमरा रंगशालामा मंगलबार भएको खेलमा कटारीले वीरगन्ज युथ एकेडेमीलाई २–० र सिक्किमले सर्लाही भेट्रान क्लबलाई २–१ ले पराजित गरेको हो । कटारीको जीतमा अशोककुमार शर्मा र सुवास आङथुम्पोले समान एक–एक गोल गरेका हुन् । आङथुम्पो खेलको म्यान अफ दि म्याच घोषित भए ।

यसैगरी सिक्किमको जीतमा नर भूपेन्द्र र शम्भु क्षेत्रीले एक–एक गोल गरे भने सर्लाहीका लागि चन्द्रबहादुर स्याङ्तानले गोल गरेका थिए । सर्लाही र सिक्किमबीचको खेल गोलको विषयलाई लिएर केहीबेर रोकिन पुगेको थियो ।

अन्तिम समयमा सर्लाहीले पाहुना टोलीलाई बिजयी घोषित गर्न आयोजकलाई समर्थन जनाएको थियो । सर्लाहीको समर्थनपछि आयोजकले सिक्किमलाई बिजयी घोषित गरेको हो ।

जीतसंगै उदयपुर र सिक्किम प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उदयपुरले अब आयोजक सिमरा भेट्रान क्लब र सिक्किमले सरस्वती नगर भेट्रान क्लब काठमाडौंसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत बुधबार बिहान ६ बजे पहिलो खेलमा हाम्रो धरान भेट्रान फूटबल क्लब र ए.बी.सी. भेट्रान क्लब, दोस्रो खेलमा बिहान ८ बजे नव जनजागृति भेट्रान क्लब सिमरा र हेटौंडा भेट्रान क्लब, तेस्रो खेलमा दिउँसो २ बजे क्लिभ हाउस भेट्रान फूटबल क्लब कोलकत्ता र चितवन भेट्रान फूटबल क्बल र अन्तिम खेलमा दिउँसो ३ बजे लेजेण्ड भेट्रान क्लब दार्जिलिङ र वीरगन्ज सिटी फूटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

असोज ५ गतेसम्म हुने प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार प्राप्त गर्नेछन् । भेट्रान फूटबल प्रतियोगितामा यो राशी देशभरीकै सर्वाधिक रहेको आयोजकको दावी छ ।
यसअघि प्रतियोगिताको उद्घाटन बारा क्षेत्र नंं ४ का प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री किसान श्रेष्ठले गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै श्रेष्ठले सिमरा रंगशालाको पूर्वाधार विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताएका छन् ।
रंगशालाकै कारण सिमरामा खेलकुदको गतिविधि तिव्ररुपमा अघि बढिरहेको बताउँदै श्रेष्ठले यसको पूर्वाधार विकास द्रुत गतिमा गर्न आवश्यक रहेको बताए । उनले सिमरा रंगशाला पुग्ने सडक विस्तार गर्न आवश्यक रहेको बताए ।

विकास निर्माणका काममा सबै पक्ष मिलेर अघि बढ्न आवश्यक रहेकोमा जोड दिदै पूर्वमन्त्री श्रेष्ठले समग्र बारा जिल्लाकै विकासका लागि सहयोग गर्न आफू तयार रहेको बताए ।

उद्घाटन समारोहमा बाराका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, प्रहरी उपरीक्षक महेन्द्र खड्का, नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य दिनेश राई, केन्द्रीय सदस्य हिमाल खरेल, समाजवादी युवा संघका मधेस प्रदेश सचिव गणेश रिजाल, बारा जिल्ला फूटबल संघका अध्यक्ष रामचन्द्र लामा, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहाल, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेलगायत उपस्थित थिए ।.

सिमरा भेट्रान क्लबका अध्यक्ष बिजय राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण संचारकर्मी प्रदीप गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्