‘ऐन बन्न ढिलाई हुँदा खेलकुद क्षेत्रले ठूलो क्षति व्यहोर्यो, अब भरपाई गर्नुपर्छ’


eShilalekh

६ आश्विन २०८१, आईतवार २०:३०

सिमराः मधेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले पछिल्लो सात वर्षमा मधेशको खेलकुद क्षेत्रले ठूलो क्षति व्यहोरेको बताएका छन् । समयमै खेलकुद ऐन बन्न नसक्दा मधेशको खेलकुद क्षेत्रमा ठूलो क्षति भएको उल्लेख गर्दै मन्त्री जयसवालले अब उक्त क्षतिको भरपाई गरेर अघि बढ्नुपर्ने बताए ।

सिमरामा आयोजित जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्री जयसवालले खेलकुद ऐन बनेसंगै अब खेलकुदका गतिविधिलाई द्रुत गतिमा अघि बढाईने बताएका छन् । मधेस प्रदेशसभाबाट भदौ २८ गते खेलकुद ऐन पारित भएसंगै खेलकुदको गतिविधिलाई गम्भीरताका साथ अघि बढाउने दायित्व थपिएको मन्त्री जयसवालको भनाई थियो ।

‘सात वर्षमा ठूलो क्षति भयो, त्यसको भरपाई हुनेगरी खेलकुद क्षेत्रको विकास गर्नुपर्नेछ’ मन्त्री जयसवालले भने ‘त्यसैले पहिला ऐन ल्याउने काम सम्पन्न गरेका छौ । अब राजपत्र प्रकाशित भएलगत्तै प्रदेश खेलकुद परिषद् गठन गरेर काम अघि बढाउनेछौं ।’ उनले खेलकुद परिषद्मा खेलाडी पृष्ठभूमिकै व्यक्तिहरु समावेश हुने बताए ।

ढिलै भएपनि खेलकुद ऐन ल्याउन सम्भव भएकोमा खुशी व्यक्त गर्दै मन्त्री जयसवालले ऐन बनेपछि ठूलो आशा समेत जागेको बताए । लामो समयदेखिको निराशालाई अन्त्य गर्न वर्तमान सरकार सफल भएपनि अबको यात्रा निकै चुनौतीपूर्ण रहेको उनको भनाई थियो । उनले खेलकुद मैदानको संरचना निर्माण र खेलकुदका गतिविधिलाई प्राथकिता दिएर अघि बढाउन जरुरी रहेको बताए ।

११औं राष्ट्रिय खेलकुद मधेस प्रदेशमा आयोजना हुने भएकाले त्यसको तयारीका लागि सरकारले काम गरिरहेको बताउँदै उनले प्रदेश भित्र खेलकुदसंग सम्बन्धित संरचना निर्माण, खेलाडी र प्रशिक्षकको मनोबल बढाउने जस्ता गतिविधि गरिरहेको बताएका छन् । उनले समय अत्यन्तै कम रहेकाले त्यसतर्फ गम्भीर भएर मन्त्रालयले काम गरिरहेको र संघीय सरकारसंग समन्वय गरिरहेको बताएका छन् ।

‘हामीसंग समय धेरै छैन । थोरै समयमा धेरै काम गर्नुपर्नेछ’ मन्त्री जयसवालले भने ‘त्यसैले समग्र खेलकुदको विकासका लागि प्रतिवद्ध भएर लागेका छौं । काम गरिरहेका छौं ।’ मन्त्री जयसवालले प्रदेश भित्र रंगशाला निर्माण र स्तरोन्नतीका लागि संघीय सरकारसंग समन्वय भईरहेको बताए । संघीय सरकारले ल्याएको बजेटमा मधेश प्रदेश भित्रका रंगशाला नपरेपनि आवश्यकतालाई मध्यनजर गर्दै बजेट व्यवस्थापनका निम्ति पहल भईरहेको मन्त्री जयसवालले बताए ।

मधेसमा कृषी, उद्योग, धार्मिक पर्यटनजस्तै खेलकुदको सम्भावना पनि उत्तिकै रहेको बताउँदै जयसवालले खेलकुद क्षेत्रको पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए । ‘सरकारबाट केही सहयोग भएपनि आजसम्म खेलाडी, प्रशिक्षक र खेलकुद प्रेमीकै पहलबाट खेलकुद क्षेत्र टिकिरहेको छ’ मन्त्री जयसवालले भने ‘अब खेलकुद क्षेत्रमा लागेका व्यक्ति, खेलाडी र प्रशिक्षकले पनि महसुस गर्ने सरकारले काम गर्छ ।’

आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै मधेस प्रदेश भित्र रहेका खेलाडी, पूर्वखेलाडी, प्रशिक्षक, पूर्वप्रशिक्षकको विवरण संकलन गर्ने काम सुरु गरेको भन्दै मन्त्री जयसवालले मन्त्रालयले थालेको यो अभियानमा सहयोग गर्न समेत आग्रह गरे । खेलाडी र प्रशिक्षकको रेकर्डले पनि खेलकुद क्षेत्रको विकासका खाका बनाउने काममा सहयोग पुग्ने उनको भनाई थियो । मन्त्री जयसवालले यसै वर्षदेखि खेलकुद क्षेत्रको विकासका काम अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्