बुधबारदेखि फेरि बर्षाको सम्भावना, मधेशमा समेत प्रभाव


eShilalekh

१४ आश्विन २०८१, सोमबार १८:१८

सिमराः आउँदो बुधबारदेखि पुनः पानी पर्ने सम्भावना रहेको मौसमविद्ले अनुमान गरेका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार कोशी प्रदेशका केही स्थानहरू तथा मधेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

कोशी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । त्रिभुवन विश्वविद्यालयका मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले बुधबारदेखि शनिबारसम्म गण्डकीदेखि कोशी प्रदेशसम्म अपराह्नपख वर्षाको सम्भावना रहेको जनाएका छन् । उनका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लामा भने वर्षाको खासै सम्भावना छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । अत्यधिक वर्षा गराउने बादल कोशी, बागमती र गण्डकी प्रदेशमा केन्द्रित थियो । हाल यो प्रणाली कमजोर हुँदै पूर्वतिर सरिरहेको छ ।

त्यसैले काठमाडौं उपत्यकासहित पश्चिमी भूभागमा अहिले घाम लागिरहेको छ । आज (सोमबार) दिउँसोसम्म घाम लागे पनि अपराह्नपछि भने आंशिक बादल लाग्ने सम्भावना छ । मंगलबार अपराह्नदेखि कोशी प्रदेश लगायतका पूर्वी भूभागका जिल्लाहरुमा बादल लागेर हल्का वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना औंल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्