अमेरिकाको टेक्सासमा पत्रकार उपाध्यायद्धारा लिखित पुस्तकको विमर्श


रामप्रसाद अधिकारी

१५ आश्विन २०८१, मंगलवार २२:३४

टेक्सास (अमेरिका): सुदूरपश्चिमका पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तकको विमर्श गरिएको छ । अमेरिकाको टेक्सासमा एक कार्यक्रमकाबीच पुस्तकको विमर्श गरिएको हो ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले सुदूरपश्चिम नेपाली समाज टेक्सासको सहकार्यमा विमर्श कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा टेक्सासस्थित नेपाली समुदायका अगुवा, पत्रकार सहभागी थिए ।

कार्यक्रममा पुस्तकका लेखक एवम् पत्रकार उपाध्यायले वि.सं. २०५२ देखि २०६२ सम्मको एक दशकको द्वन्द्वका घट्नाक्रमलाई पुस्तकमा समेट्ने प्रयास गरिएको बताए । पत्रकारहरु द्वन्द्वका घट्नाको प्रत्यक्ष साक्षी रहेकाले पुस्तकमा समेटिएका विषयबस्तुहरु सञ्चारकर्मीलाई आफ्नै कथा, व्यथा जस्तो लाग्न सक्ने उपाध्यायको भनाई थियो ।

नेपालमा १० वर्षे जनयुद्धका क्रममा नेपाली पत्रकारहरु राज्य र माओवादी पक्षको निसानामा परेको र उक्त अवधिमा २६ जना नेपाली पत्रकारहरुले ज्यान गुमाएको घटना पुस्तकमा उतारिएको छ । द्वन्द्वका समयमा देखेका भोगेका घट्नाक्रमलाई पत्रकार उपाध्यायले क्रमबद्ध रुपमा लेखेका छन् । जनयुद्धका विषयमा अध्ययन गर्न चाहनेले उक्त पुस्तक पढ्न सक्ने उपाध्यायले समिक्षा कार्यक्रममा बताए ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार सन्जय घिमिरेले ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक महत्वपूर्ण दस्तावेजका रुपमा लिन सकिने बताए । यस्तै पत्रकार गोपाल गड्तौलाले जनयुद्धको समयमा आफू झापामा सक्रिय पत्रकारिता गरिरहेको सम्झदै त्यसबेलाका घटनाक्रम सम्झदा पनि अत्यास लाग्ने बताए ।

कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघ (नेजा) का पूर्वअध्यक्ष भोला आचार्य, निवर्तमान अध्यक्ष विकासराज न्यौपाने, पत्रकार विनय देवकोटा, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, सामाजिक अभियन्ता बाल जोशी, भक्तबहादुर भण्डारी, डा. भोजबहादुर बलायरलगायतले समाज र पत्रकारिता क्षेत्रको उदेश्य समृद्ध समाज निर्माण भएकाले सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्