बाढी, पहिरो र डुबानमा ज्यान गुमाउनेको परिवारलाई मधेश सरकारले एक लाख दिने


eShilalekh

१७ आश्विन २०८१, बिहीबार १३:४७

सिमराः अविरल वर्षासंगै आएको बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाएका मधेश प्रदेश भित्रका नागरिकको परिवारलाई प्रदेश सरकारले एक लाख रुपैया उपलब्ध गराउने भएको छ । असोज ११ र १२ गते आएको वर्षा र त्यसपछिको विपत्तिमा परी ज्यान गुमाएका नागरिकको परिवारलाई राहतस्वरुप मधेश सरकारले जनही एक लाख रुपैया उपलब्ध गराउने भएको हो ।

मधेशका आठ जिल्लामा मात्र नभई देशको जुनसुकै स्थानमा प्रदेश भित्रका नागरिकले ज्यान गुमाएको भएपनि प्रदेश सरकारले राहत रकम उपलब्ध गराउने भएको हो । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विपत्तिमा परी ज्यान गुमाएका प्रदेश भित्रका नागरिकका परिवारलाई राहत रकम उपलब्ध गराउन लागिएको बताए ।

यसअघि संघीय सरकारले मृतकका परिवारलाई जनही दुई लाख रुपैया राहत रकम उपलब्ध गराउने घोषणा गरेको थियो । संघीय सरकारले उपलब्ध गराउने दुई लाखमा एक लाख थप हुने गरी मधेश सरकारले राहत रकम उपलब्ध गराउने बताए ।
मुख्यमन्त्री सिंहले मधेस प्रदेश भित्रका आठ जना नागरिकले पछिल्लो पटकको विपत्तिमा ज्यान गुमाएको तथ्यांक आफूसम्म आईपुगेको बताए । उनले मधेश प्रदेश भित्रका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई एकद्धार प्रणालीबाट राहत उपलब्ध गराउन समेत निर्देशन गरिएको जानकारी दिए ।

मुख्यमन्त्री सिँहले वर्षा र बाढीका कारण कृषि, सिँचाइ, भौतिक पूर्वाधारलगायत क्षेत्रमा भएका क्षतिका विवरण संकलन भइरहेको र त्यसअनुरूप राहत तथा पुनर्स्थापनाको कार्यमा सहजीकरण गर्न प्रदेशका मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्