गढीमाई मन्दिर दर्शन गर्न दर्शनार्थीहरुका लागि निःशुल्क बस सेवा
सिमराः बाराको बरियापुरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिर दर्शन गर्न जाने दर्शनार्थीहरुका लागि कलैयाबाट निःशुल्क बस सेवा सुरु गरिएको छ । महागढीमाई नगरपालिका र गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन समितिको समन्वयमा दर्शनार्थीहरुको सहजताकालागी निःशुल्क बस सेवा सुरु गरिएको हो ।
महागढीमाई नगरपालिकाका मेयर तथा मेला समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले गढीमाई मन्दिर र मेलामा दर्शन गर्न आउने दर्शनार्थीहरुको सहजताका लागि ओम विनायक ट्राभल्स प्रालिका अध्यक्ष अच्युत पौडेलसंगको समन्वयमा कलैयाबाट मन्दिरसम्म निःशुल्क बस सेवा सुरु गरिएको बताएका छन् ।
बारा बस व्यवसायी संघको समन्वयमा थप चार वटा बस निःशुल्क सञ्चालन गर्ने बारेमा पहल भइरहेको उनले बताए ।
घटस्थापनादेखि नवमीका दिनसम्म कलैयाबाट गढीमाई मन्दिरसम्मकालागि ओमविनायक ट्राभल्सले निःशुल्क बस सेवा सञ्चालन गरेको हो । कलैयाको भरत चोकबाट बिहान ६ः३० बजे दर्शनार्थीहरुलाई लिएर बस गढीमाई मन्दिरसम्म जाने र बिहान ८ः३० बजे पुनः बस कलैया फर्किने ओम विनायक ट्राभल्स प्रालिका अध्यक्ष अच्युत पौडेलले बताए ।
बिहीबारदेखि नै कलैयाबाट निःशुल्क बस सेवा सुरु भएको छ ।