मधेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रूपैयाँ सहयोग गर्ने
सिमराः मधेश प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । बाढीपहिरो प्रभावितहरूको लागि उक्त रकम मधेश सरकारले सहयोग गर्ने घोषणा गरेको हो ।
प्रदेश सत्ता गठबन्धनको आज बसेको बैठकले बाढी, पहिरो र डुबानबाट प्रभावित परिवारलाई राहत दिनेगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सो रकम सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सतिस सिंहले बताएका छन् । बैठकको आग्रह अनुसार मुख्यमन्त्री सिंहले उक्त रकम उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका हुन् ।
यो संगै गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेको छ । प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको संख्या, पदाधिकारीको कार्यावधि, कामकाजको प्रभावकारिता लगायतका विषयमा अध्ययन र मूल्यांकन गर्न समिति गठन भएको छ ।
लोसपा संसदीय दलका उपनेता महतोको संयोजकत्वमा गठन भएको समितिमा एमालेका तर्फबाट प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जयसवाल, नेपाली कांग्रेसका तर्फबाट ऊर्जा, सिँचाई तथा खानेपानीमन्त्री शेषनारायण यादव र जनमत पार्टीका तर्फबाट प्रदेशसभा सदस्य सञ्जयकुमार यादव सदस्य रहेका छन् ।