पर्यटकीय नगरी सौराहामा थपियो ‘युआर अटोमेटिक लण्ड्री’ को सेवा
सिमराः बाराको सिमराबाट सुरु भएको युआर अटोमेटिक लण्ड्रीको सेवा पर्यटकीय नगर सौराहमा समेत विस्तार गरिएको छ । चितवनको रत्ननगर नगरपालिका ६ सौराहामा लण्ड्रीको सेवा विस्तार गरिएको हो ।
झण्डै एक करोडको लगानीमा स्थापना गरिएको लण्ड्रीको क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष गंगा गिरीेले उद्घाटन गरेका हुन् । उद्घाटनमा सौराहास्थित होटल संघका प्रतिनिधि, विभिन्न होटल व्यवसायमा आवद्ध व्यवसायी, स्थानीयको उपस्थिती रहेको थियो ।
लामो समयदेखि सिमरामा आधुनिक प्रविधिको प्रयोग गरी लण्ड्री (लुगा धुने) सेवा प्रदान गर्दै आएका युवा व्यवसायी उमेश चौलागाईं र उनकी पत्नी रिता कंडेलले दोस्रो गन्तब्य सौराहा चयन गरेका हुन् । उनिहरुले शाखा बिस्तार गर्ने क्रममा गुणस्तरीय सेवाका लागि आधुनिक प्रविधि समेत थप गरेका छन् ।
लण्ड्री संचालक चौलागाईंले पर्यटकीय नगरी सौराहामा संचालित होटल व्यवसायलाई लक्षित गरेर सेवा विस्तार गरिएको इशिलालेखलाई बताए । आधुनिक प्रविधिसहितको सेवा लिएर सौराहा आईपुगेको बताउँदै चौलागाईंले गुणस्तरीय सेवा प्रदान गर्नका लागि सधैं झै प्रतिवद्ध रहेको बताए ।
उद्घाटन समारोह युआर अटोमेटिक लण्ड्रीकी प्रवन्ध निर्देशक रिता कंडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उद्घाटन समारोहको सहजीकरण संचारकर्मी प्रदीप गौतमले गरेका थिए ।