सिस्नेरी पहिरोमा ज्यान गुमाउने ६ खेलाडीका परिवारलाई एन्फाले जनही आठ लाख दिने


eShilalekh

२० आश्विन २०८१, आईतवार २१:४५

सिमराः सिस्नेरीको पहिरोमा परी ज्यान गुमाएका यु–१३ का ६ खेलाडीका परिवारलाई अखिल नेपाल फूटबल संघ (एन्फा) ले जनही आठ लाख राहत रकम दिने भएको छ । एन्फाको शनिबार बसेको आपतकालीन बैठकले उक्त राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

एन्फाले मृतक ६ खेलाडीको नाममा जनही दुई लाखको अक्षय कोष खडा गर्ने, मृतक खेलाडीको सालिक वा स्मृति स्तम्भ निर्माणका लागि एकेडेमी संचालन गरिएको सिस्नेरीस्थित वात्सल्यदेवी माध्यमिक विद्यालयलाई पहल गर्ने, छात्र स्कुल प्रतियोगितालाई मृतक खेलाडीको स्मृतिमा आयोजना गर्ने, मृतक खेलाडीको परिवारलाई थप राहतका लागि फिफा र एएफसीलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङको अध्यक्षतामा बसेको बैठकले घटनाको सत्य तथ्य संकलन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी तीन सदस्यीय समिति गठन गरेको छ । समितिको संयोजकमा एन्फाका केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठ रहेका छन् भने सदस्यमा केन्द्रीय सदस्य टिकाराम लामा र एन्फा सहायक महासचिव दामोदार भट्टराई रहेका छन् ।

अविरल वर्षासंगै असोज १२ गते मकवानपुरको सिस्नेरीमा खसेको पहिरोले पुरिएर बाराका विकल रेग्मी, सर्लाहीका आदित्य बलम्पाखी, मकवानपुरका अनुपम घनाल, साइमन योञ्जन, दिवस बानियाँ र काठमाडौंका रियान्स आचार्यको मृत्यु भएको थियो । उनिहरु वात्सल्यदेवी माध्यमिक विद्यालयमा एन्फाले संचालन गरेको आवासीय एकेडेमीमा थिए । एकेडेमीबाट सुरक्षित स्थलतर्फ लैजाने क्रममा उनिहरुलाई पहिरोले पुरेको थियो ।

प्रतिक्रिया दिनुहोस्