जेष्ठ नागरिकको रकम लुटने गिरोह पक्राउ
सिमराः जेष्ठ नागरिकले बैंकबाट निकालेको रकम लुटेर फरार भएका चार जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने चारै जना भारतीय नागरिक रहेका छन् ।
असोज १ गते कलैया उपमहानगरपालिका १ स्थित प्रभु बैक अगाडीबाट ५० हजार रकम निकालेर घरतर्फ जाँदै गरेका बलिरामपुरका बृद्धलाई बाटोमा चक्कु देखाएर रकम लुट्ने गिरोह पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत बिहार जिल्ला पश्चिम चम्पारणका ४३ वर्षीय सुरेश प्रसाद बानियाँ, ४५ वर्षीय शर्मा मुखिया, ३५ वर्षीय शैलेश तिवारी र बिहार मोजफरपुरका ३४ वर्षीय रवि दास रहेका छन् ।
बलिरामपुरका उक्त जेष्ठ नागरिकका परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले उनिहरुको खोजी गरिरहेको थियो । प्रहरीका अनुसार चारै जना पुनः अर्को व्यक्तिलाई लुट्ने योजना बनाईरहेको अवस्थामा कलैयाबाट पक्राउ परेका हुन् । आफूहरुलाई आएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चार जनालाई पक्राउ बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।
उनिहरुको साथबाट भारतीय नम्बरको एउटा मोटरसाइकल समेत बरामद भएको प्रवक्ता सापकोटाले बताएका छन् । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।