राष्ट्रिय फुलकन्ट्याक्ट करातेको मधेश प्रदेश स्तरीय भेला सिमरामा सम्पन्न


eShilalekh

२१ आश्विन २०८१, सोमबार २०:५६

सिमराः नेपाल खेलकुद महासंघ राष्ट्रिय फुलकन्ट्याक्ट करातेको मधेश प्रदेश स्तरीय भेला सोमबार सिमरामा सम्पन्न भएको छ । नेकपा एमाले मधेस प्रदेशका सचिव एवम् जनसंगठन समन्वय संयन्त्रका प्रमुख मनोज पौडेलको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

भेलालाई सम्बोधन गर्दै पौडेलले नेकपा एमालेले मात्रै खेल र खेलाडीको हितमा काम गरेको बताए । उनले राष्ट्रिय खेलकुद ऐन नेकपा एमालेले ल्याएको र अहिले मधेस प्रदेशको खेलकुद ऐन पनि एमालेकै मन्त्री हुँदा आएको बताए ।

नेता पौडेलले तीन तहको सरकारले कुल बजेटको एक प्रतिशत खेलकुदका लागि छुट्याउनुपर्ने माग गरे । एमालेको बहुमतको सरकार नआएसम्म खेल र खेलाडीको हितमा काम हुन नसक्ने बताउँदै पौडेलले देशलाई चिनाउने खेलाडीलाई पेन्सन भत्ताको व्यवस्था गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा खेलकुद महासंघका केन्द्रीय सचिव एवम् इन्चार्ज प्रभु शिवाकोटी, खेलकुद महासंघका विज्ञ सदस्य मानदेव हजरा, मदन भण्डारी स्पोर्टस् एकेडेमी मधेश प्रदेशका अध्यक्ष रवीन्द्रराज भण्डारी, नेपाल खेलकुद महासंघ मधेस प्रदेशकी उपाध्यक्ष सम्झना राई, प्रेस चौतारी नेपालका बाराका अध्यक्ष दिवाकर भण्डारी, राष्ट्रिय फुलकन्ट्याक्ट करातेका केन्द्रीय सदस्य रवि गुप्ता, मेघनाथ अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

भेलाले राजेश महतोको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय फुलकन्ट्याक्ट कराते मधेस प्रदेश कमिटी गठन गरेको छ । नवनिर्वाचित कमिटीलाई इन्चार्ज शिवाकोटीले सपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्