प्रथम क्रियटिभ भेट्रान प्रतियोगिताको आयोजना मिति सर्यो, मंसीर ११ गतदेखि हुने


eShilalekh

५ कार्तिक २०८१, सोमबार १०:०४

सिमराः कार्तिक पहिलो साता हुने भनिएको प्रथम क्रियटिभ जीतपुरसिमरा भेट्रान कप फूटबल प्रतियोगिता मंसीर ११ देखि हुने भएको छ । नव जनजागृति भेट्रान क्लबको आयोजनामा कार्तिक ६ गतेदेखि हुने भनिएको प्रतियोगिता मंसीर दोस्रो साताका लागि सारिएको हो ।

प्रतियोगितामा सहभागी जनाउन लागेका टिमहरु विभिन्न प्रतियोगितामा व्यस्त रहेको र टिमहरुकै अनुरोधमा एक महिना पछाडी सारिएको संयोजक राम पाठकले जानकारी दिएका छन् । आयोजकका अनुसार अब प्रतियोगिता मंसरी ११ गतेदेखि १५ गतेसम्म सिमरा रंगशालामा हुनेछ ।

४० वर्ष उमेर पुगेका खेलाडीले मात्रै सहभागिता जनाउन मिल्ने उक्त प्रतियोगितामा २० टिमले सहभागिता जनाउनेछन् । प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

प्रतियोगितामा विभागिय टिमसहित काठमाडौं, पोखरा, धरान, चितवन, हेटौंडा, झापा, सर्लाही, नवलपरासी, कटारी, वीरगन्ज, कलैया, पथलैया, डुमरवाना, खैर्वा, निजगढ, बगही र आयोजकका दुई टिमले सहभागिता जनाउने संयोजक एवम् क्लबका सचिव पाठकले जानकारी दिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना हुने प्रतियोगितालाई कलैयास्थित क्रियटिभ वल्र्ड डिजिटल प्रा.लिले मुख्य प्रायोजन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्