महरा हत्या प्रकरणः आफ्नै साथीहरूले हत्या गरेको खुलासा, पाँच जना पक्राउ


eShilalekh

५ कार्तिक २०८१, सोमबार १५:४९

सिमराः कृष्णकुमार महराको हत्या आरोपमा प्रहरीले पाँच जनालाई प्रक्राउ गरेको छ ।

प्रक्राउ पर्नेमा गोलबजार नगरपालिका–१३ डंगराहा टोलका २७ वर्षीय सन्तोषकुमार महरा, २८ वर्षीय रोहितकुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरजकुमार राम र २० वर्षीय मोहम्मद जमसेद रहेका छन् । महराको हत्या आफ्नै साथीहरूले गरेको खुलासा भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार दुर्गा पूजाको मेला हेर्न गएका बेला पाँचजनाले महराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक महरासँगै गएका पाँचजनाले लागुऔषध सेवनपछि रिसको झोंकमा हत्या गरेको बताइएको छ ।

प्रहरीका अनुसार घटनाको राति कृष्ण र उनका साथीहरू दुर्गा पूजाको मेला हेर्न गएका थिए । मेला स्थल नजिकैको खोलामा पुगेर सबैजनाले गाँजा र नाईट्राभेट ट्याबलेट सेवन गरेका थिए । सो क्रममा कृष्णले आफूले चिनेकी एक महिला साथीलाई भेट्ने योजना सुनाएपछि साथीहरूबीच विवाद भएको थियो । विवादकै क्रममा आक्रोसित भएका साथीहरूले धारिलो कैंचीले कृष्णको घाँटी र पेटमा प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ ।

हत्या पश्चात अपराध लुकाउनका लागि उनीहरूले कृष्णको शव गागन खोलाको किनारमा खाल्डो खनी बालुवाले ढाकेर भागेका थिए । असोज २८ गते शव फेला परेपछि प्रहरीले प्रारम्भिक अनुसन्धानमार्फत आफ्नै साथीहरूले हत्या गरेको पुष्टि गरेको हो ।

पक्राउ परेकालाई सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्