२५ लाखको चाँदीका मूर्तिसहित अमलेखगञ्जबाट दुई जना पक्राउ


eShilalekh

९ कार्तिक २०८१, शुक्रबार १३:३४

सिमराः बाराको अमलेखगञ्जस्थित ईलाका प्रहरी कार्यालयले २५ लाख मूल्य बराबरको चाँदीका मूर्तिसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जीतपुरसिमरा उपमहानगरपालिका ८ गमरगावाटोलका २७ वर्षीय सुरेश महतो र प्रसौनी गाउँपालिका ६ प्रस्टोकाका २७ वर्षीय सन्तोष साह सोनार रहेका छन् ।

पथलैयाबाट हेटौडातर्फ जाँदै गरेको दुई वटा मोटरसाइकललाई रोकी जाँच गर्ने क्रममा २५ लाख चार हजार मूल्य बराबरको १४ किलो चाँदीका मूर्ति बरामद भएको बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिएका छन् । सापकोटाका अनुसार सुरेशले चलाएको ना५५प ३९३२ नम्बरको मोटरसाइकलबाट पाँच किलो र सन्तोषले चलाएको ना५२प २५८४ नम्बरको मोटरसाइकलबाट ९ किलो चाँदीबाट बनाइएको मूर्ति बरामद भएको हो ।

मोटसाइकलको ट्यांकी भित्र फल्स बटममा लुकाएर चाँदीका मूर्ति लैजादै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी बरिष्ठ नायब निरीक्षक त्रिभुवन साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकालाई हिरासतमा राखी आवश्यक कारवाही प्रक्रिया अघि बढाईएको बाराका प्रहरी प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्