जुरमुराएको रंगोलीसँगै मौलिकता हराउँदै गएको देउसी भैलो
कृष्ण अधिकारी
सिमरा: सानामा साथीहरूसँग देउसी भैलो खेल्ने ती रमाइला दिनहरू अझै याद आउँछन् । नजानिदो तरिकामा नाच्दै, देउसिरे भन्दै रात बिताउँदा त्यो सन्देश मात्रै थिएन, हाम्रो संस्कृतिको जगेर्ना पनि थियो। कुनै ठूला साउन्ड सिस्टमको आवश्यकता पर्दैन थियो , हिन्दी गीतको कब्जा पनि थिएन। त्यो बेला मादलको ताल, चौबन्दी चोली, ढाका टोपी र सरलपनले हाम्रो देउसी भैलो बाँच्थ्यो। मानौं हामीलाई बलिराजाले कार्तिकमा दान माग्न पठाएका हुन्, हाम्रो मौलिकता बचाइराख्न ।
नाङ्लोमा धान, धानमाथि टपरी, टपरिमा चामल, अनि दियो बत्ती बालेर, पैसाको फन्कोमा देउसिको घन्को। सेरो फेरोमा सेलरोटिको घेरो । यस्ता भाकामा गाइने देउसी भैलोको स्वागतमा कति श्रद्धा थियो । त्यो झिलिमिली तिहारका साँझहरूमा हामी अन्त्यमा जम्मा भएको पैसालाई भट्याउनेलाई अलि बढी दिएर खुशी-खुशी भाग लगाउँथ्यौं।
आजभोलि भने सामाजिक सञ्जालको व्यापक प्रयोगले हाम्रो संस्कृति र परम्पराको स्वरूप बदलिँदै गएको देखिन्छ । रंगोलीका आकार, चित्र, र डिजाइन त फेरिए तर त्यो भन्दा महत्त्वपूर्ण कुरा यो हो कि देउसी भैलो हाम्रो वास्तविक जीवनबाट हराउँदै छ। हामी पछिल्लो पुस्ताले देउसी भैलो अब यूट्युबमा मात्रै हेर्छन्, खेलिहाले पनि साउन्ड सिस्टममा हिन्दी गीत बजाएर।
तर के हामीले आधुनिक प्रविधिको सही उपयोग गरेर हाम्रो मौलिकतालाई फेरि जीवन दिन सक्दैनौ? नेपाली लोकगीतहरूलाई डिजिटल माध्यमबाट फैलाउने, नेपाली संस्कृति झल्काउने एप्सहरू बनाउने र सामाजिक सञ्जालमा नेपाली कला-संस्कृतिको प्रचारप्रसार गर्ने काम अब समयको माग हो ।
के यो मौलिकता जोगाउने जिम्मेवारी मात्र विद्यालय छुट्टिमा रहेका ती बालबालिकाको हो? विद्यालयहरूमा यसबारे विशेष शिक्षा दिइनुपर्छ । बालबालिकालाई देउसी भैलो, भजनजस्ता परम्पराहरूको महत्त्व बुझाउन र सिकाउन हामीले आवश्यक कदम चाल्नुपर्छ। यसले उनीहरूलाई आफ्नै संस्कृतिप्रति गर्व गराउनेछ ।
तर, यो जिम्मेवारी केवल विद्यालयको होइन। समाजको नेतृत्व बोकेर हिँडेका जनप्रतिनिधिहरूले पनि यसमा ध्यान दिनुपर्छ। उनीहरू बेखबर छन् कि बेपरवाह, त्यो त पछि समीक्षा होला, तर अहिले समाजको प्रत्येक व्यक्ति, स्थानीय संघसंस्था, र अगुवाहरूले संस्कृतिको जगेर्नामा आफ्नो भूमिका खेल्न आवश्यक छ।
हाम्रो संस्कृति फजुल खर्च होइन, यो सभ्यता र नैतिकताको थालनी हो। यो हाम्रो पहिचान हो, हाम्रो इतिहास हो । कला र संस्कृति जोगिए पो हाम्रो पहिचान जोगिन्छ, हाम्रो राष्ट्रियता जोगिन्छ।
यही कुरालाई बुझ्दै, सिमरा कलेजका प्रमुख शालिकराम अधिकारीको नेतृत्वमा यस वर्ष नेपाली भजन टोलीसहितको देउसी भैलो आयोजना गर्ने योजना अघि बढेको छ। यो कदमले हाम्रा परम्पराहरूलाई ब्यूँताउने मात्र होइन, आगामी पुस्तालाई पनि आफ्नो पहिचानबारे सचेत पार्नेछ ।
अहिले समयले माग गरेको छ कि ठाउँ-ठाउँबाट यसरी नै हाम्रो मौलिकता र राष्ट्रियतालाई जोगाउने प्रयास गरिनुपर्छ । साना-साना अभियानहरूबाट नै हामीले हाम्रो संस्कृतिलाई बलियो बनाउन सक्छौ । अन्यथा, हाम्रो संस्कृति केवल यूट्युबमा हेर्ने कथा बनेर बस्नेछ ।
अन्त्यमा, अरूको शब्दलाई सापटी लिँदै भन्छु: मोबाइलमा विदेशी गीत बजाएर टिस्टा, कालापानी फर्किँदैन, न धर्म-संस्कृतिको जगेर्ना हुन्छ। हाम्रो सम्पदा, हाम्रो संस्कृति, र हाम्रो पहिचान हामी आफैंले जोगाउनु पर्दछ।
लेखक अधिकारी जीतपुरसिमरा उपमहानगरपालिका २ का स्थानीय युवा हुन् ।