हत्या प्रकरणः अनुसन्धानका लागि ६ जना नियन्त्रणमा, हत्यारालाई तत्काल पक्राउ गर्न कांग्रेस बाराको माग


eShilalekh

११ कार्तिक २०८१, आईतवार १८:१९

सिमराः बाराको महागढीमाई नगरापालिका १ सेमरा तेगछियामा धारिलो हतियार प्रहार गरी एक स्थानीयको हत्या गरिएको घटनाको अनुसन्धान गर्न प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानका लागि नियन्त्रणमा लिइएकाले उनिहरुको पहिचान प्रहरीले खुलाएको छैन । उनिहरुलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ ।

महागढीमाई १ सेमरा तेगछियामा शनिबार राती स्थानीय ५० वर्षीय श्रीनारायण यादवको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । मृतकको घाटीमा गहिरो चोट लागेको थियो ।

यादवको हत्यापछि महागढीमाईका जनप्रतिनिधिसहित स्थानीय र नेपाली कांग्रेसले कलैयामा विरोध जनाएको छ । घटनाको अनुसन्धान गरी दोषी पत्ता लगाउन माग गर्दै महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव, कांग्रेस बाराका सचिव भैयाराम यादवलगायतका नेताकार्यकर्ता र स्थानीयले विरोध जनाएका हुन् ।

घटनामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै उनिहरुले दोषी पक्राउ नपरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

तस्वीरः साजिर मन्सुर

प्रतिक्रिया दिनुहोस्