बारा प्रहरीद्वारा लागूऔषध बिक्री वितरणमा संलग्न एक जना पक्राउ
सिमराः बारा प्रहरीले लागूऔषध बिक्री वितरणमा संलग्न रहेका एक पोलिक्लिनिक सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यम आर पोलिक्लिनिकका सञ्चालक राजेश साह कानु रहेको ईलाका प्रहरी कार्यालय बारागढीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा प्रहरीले बारागढी गाउँपालिका वडा नम्बर २ मलाही चौकस्थित यम आर पोलिक्लिनिकमा छापा मारेको थियो । छानबिनका क्रममा उक्त क्लिनिकबाट विभिन्न प्रकारका लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पोलिक्लिनिकबाट Corex dx ५ थान, Nitravet ४७ थान, Tramowell २० थान, Lori ३ थान, Buprigesic ३ थान र Phenergan ३ थान बरामद गरिएको छ ।
बारा प्रहरीले हाल पक्राउ परेका कानुलाई नियन्त्रणमा राखेर यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजीकार्य तथा अनुसन्धान कार्यलाई तीव्रता दिएको छ ।