टिस्टा बिर्सेको मेरो देश
कृष्ण अधिकारी
सिमराः ‘मेरो देशले भुल्यो मलाई, उर्लेको टिस्टाले भन्दै थिई ।’ टिस्टा नदीको शान्त जलधारामा अचानक हलचल आयो । जताततै उर्लिएर, प्रचण्ड वेगमा बग्दै टिस्टा आफ्नै देशलाई सम्बोधन गर्दै फुसफुसाइरहेकी थिई । सधैं यहाँको हरियालीलाई जीवन दिने टिस्टा, आज भने उदास देखिन्थी ।
किन मलाई बिर्सिएको होला? सायद यस्तै केही भन्दै थिई । ती दिनहरू सम्झँदै जब उसलाई उसको मातृभूमिले गर्वका साथ स्वागत गर्थ्यो, उसैको सुन्दरताले सबैको मन जित्थ्यो र उनीहरूको गीत र गजलमा अङ्कित रहन्थी । तर आज समयसँगै उसलाई हेर्ने नजर बदलिएको छ ।
टिस्टाको पानी गहिराइमा हरायो, तर उसको मनमा उठेका प्रश्नहरू सतहमा नै तैरिरहेका छन् । बग्दै गर्दा उसलाई आफ्नो अस्तित्वको कुरा झल्किरहेको थियो । मानौं उर्लिएको पानीसँगै उसले आफ्नो आत्मसम्मान पनि बगिरहेको अनुभूति गरिरहेकी थिई । बग्दाबग्दै प्रत्येक छालले सोधिरहेको थियो ‘मेरो देशले मलाई किन बिर्सियो?’
यो प्रश्न कुनै एउटा नदीको मात्रै थिएन । यो त ती आम नेपालीको प्रश्न थियो, जो देशबाट पर थिए, जसको योगदानलाई देशले समयसँगै भुल्दै गइरहेको थियो । टिस्टा त केवल एउटा माध्यम मात्रै थिई । उर्लेर बग्दै, आफ्नो भूमिलाई झक्झक्याउँदै, उसले सन्देश पठाइरही, ‘म अझै यही छु, मैले देशलाई माया गरेझैं, के देशले पनि मलाई माया गर्नेछ?’
साँझ पर्दै गयो, र टिस्टाको छायाँ नदीको सतहमा अड्किएको अनुभूति हुन्थ्यो । तर, उर्लिएको पानीको प्रत्येक तरंगले मानौं उसलाई सम्झाउँदै थियो, ‘तिमी जहाँ पुग्छौ, तिम्रो अस्तित्व यही माटोमा सदैव बाँधिएको छ ।’ टिस्टा पुनः बग्न थाल्छे । उर्लिएको टिस्टा अझै बगिरहेकी थिई, एउटा गहिरो पीडा र सम्झनाका साथ र यो आवाज फैलिँदै गयो ‘देशले माया नगरे पनि, म त यहीको हुँ ।’
भनिन्छ, नदिको कुनै देश हुदैन, तर टिस्टा नदी केवल पानीको धार मात्र थिएन । यो देशको इतिहास र गौरवको गाथा बोकेको थियो । जब–जब टिस्टाको नाम लिइन्छ, भीमसेन थापाको वीरगाथा झल्केर आउँछ, जसले देशको माटोलाई पराइ भूमिमा झुक्न दिएन । टिस्टा साक्षी छ, जहाँ वीरताको गाथा सुनिन्छ र देशले सधै गर्वसाथ सम्झिरहन्छ ।