गढीमाई मन्दिरमा दर्शनार्थीको गहना चोरी गरेको आरोपमा तीन जना पक्राउ
सिमराः महागढीमाई नगरपालिकास्थित गढीमाई मन्दिरमा दर्शनार्थीको सुनको सिक्री चोरेको आरोपमा बारा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १६ का शम्भु राय, सन्दिप राय र पकहाँमैनपूर गाउँपालिका ५ का पवन यादव रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश सापकोटाका मन्दिरमा पूजा गर्न आएका एक दर्शनार्थीको सुनको सिक्री चोरी भएको थियो । मन्दिरमा जडान गरिएको सिसिटिभी क्यामराबाट पहिचान गरी उनिहरुलाई पक्राउ गरेको सापकोटाले जानकारी दिए । पक्राउ गरेकालाई जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखिएको छ ।
घटस्थापनाको दिनदेखि मेला सुरु भएसंगै गढीमाई मन्दिरबाट दर्शनार्थीको गहना चोरी हुन नदिन उच्च सतर्कता अपनाइएको छ । मन्दिर क्षेत्रमा हुने चोरीका घटना नियन्त्रण र चोरी गर्ने व्यक्तिको पहिचान गर्नका लागि सिसिटिभी क्यामरा जडान गरिएको मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले जानकारी दिएका छन् ।
मेलामा सुरक्षाका लागि २० ठाउँमा सिसिटिभी जडान गरिएको र १० वटा थप्ने काम भइरहेको यादवले बताए ।